भद्रपुर, चैत १८ । झापामा अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा यस पटक एक लाख ३६ हजार १८ जना बढी मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापाको विवरण अनुसार झापामा यसपटक ६ लाख ४६ हजार २३४ जना मतदाताले मतदान गर्ने अधिकार पाएका हुन् । जसमा महिला मतदाता ३ लाख २४ हजार ७०५ र पुरूष मतदाता ३ लाख २१ हजार ५२० जना रहेका छन् भने अन्य मतदाताको संख्या ९ रहेको जनाइएको छ । झापामा अघिल्लो निर्वाचनमा ५ लाख १० हजार २१६ जना मतदाता रहेका थिए ।
यस पटक झापामा ७५५ मतदान केन्द्र र २८६ मतदान केन्द्र तोकिएको छ भने जगेडा १० प्रतिशत समेत ६ हजार ६ सय कर्मचारी परिचालित हुने गरी निर्वाचन तयारी थालिएको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जानकारी दिए । प्रमुख नेपालका अनुसार मतदानस्थल र केन्द्रहरूको अध्ययन, अवलोकन गर्ने काम सम्पन्न भइसकेको छ । ०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा आवश्यक तयारी तीव्र गतिमा चलिरहेको नेपालले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय झापाले निर्वाचनको आवश्यक कामलाई निरन्तर रुपमा अघि बढाइरहेको छ । निर्वाचन अधिकारी नेपालका अनुसार मतदाता नामावली अद्यावधिकको काम समेत सम्पन्न भइसकेको छ । नेपालले भने,‘ बसाइसराइ गएका , आएका, मृत्यु भएका र विवाह गरी गएका–आएका मतदाताको नामावली अद्यावधिक हुने गर्दछ । सो अद्यावधिक गरिएको नामावली नै अन्तिम नामावली हो ।’

निर्वाचनका लागि आवश्यक सामग्रीहरू मतदान केन्द्रहरूमा बैशाख २७ गते पठाइने छ । निर्वाचन आयोगको योजना अनुसार तीन दिनअघि मात्रै सामग्री पठाइने नेपालको भनाइ छ । यस्तै, बैशाख ८ गते झापाका १५ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।
बैशाख ११ देखि १७ गतेसम्म निर्वाचन कार्यक्रमअन्तर्गत मनोनयन, उम्मेद्वारहरुको नामावली प्रकाशन, दावी विरोध, छानविनपछिको अन्तिम नामावली प्रकाशन, उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ । जिल्लामा स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय ६ दलसहित ३६ दल दर्ता भइसकेका छन् । यस्तै स्थानीय तहको निर्वाचनमा देशभरी १० हजार ७ सय ५६ वटा मतदानस्थल निर्धारण गरिएको छ । यी स्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी मधेस प्रदेशमा २ हजार १ सय ६३ मतदानस्थल र ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको छ । मधेस प्रदेशका आठ जिल्लामा ३३ लाख ३१ हजार १ सय ७० मतदाता छन् ।
त्यस्तै प्रदेश १ मा १ हजार ८ सय ७७ मतदानस्थल तय गरिएको छ । यसमा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरिएको छ । प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता छन् ।
वागमतीमा १ हजार ७ सय ९२ मतदानस्थल र ४ हजार ९५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । वागमतीमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८ सय ६९ मतदाता छन् ।
गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाताको लागि १ हजार २ सय ५३ मतदानस्थल तय गरिएको छ । लुम्बिनीमा ३२ लाख १९ हजार ४ सय ५७ मतदाताको लागि १ हजार ६ सय २९ मतदानस्थल, कर्णालीमा १० लाख १ हजार २ सय ८२ मतदाताको लागि ९ सय ७ मतदानस्थल तोकिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाताका लागि आयोगले १ हजार १ सय ३५ मतदानस्थल तय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्