बिर्तामोड , चैत १८ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) ले आउँदो स्थानीय तहको निर्वाचनमा एमालेलाई निमिट्यान्न पार्ने चुनावी रणनीति अपनाएको छ ।

एमालेभित्र खासगरी ओली समूहलाई सिध्याउने गरी उसले चुनावी रणनीति अख्तियार गरेको हो । यो निर्वाचनमा एमालेमा टिकट नपाएर असन्तुष्ट हुनेहरुलाई उसले टिकट दिने रणनीति बनाएको हो । एमालेको ओली गुटलाई निमिट्यान्न पार्ने आफूहरुको रणनीति रहेको पार्टीका जिल्ला अध्यक्ष वेदराज रेग्मीले बताए ।

‘एमालेबाट टिकट नपाएर रुष्ट बन्नेहरुलाई लक्षित गरी हामी टिकट दिन्छौं ’उनले भने ,‘जसरी हुन्छ हामी ओली समूहलाई सक्ने प्रयास गर्छौ ।’ अघिल्लो स्थानीय तहको निर्वाचनमा ४–५ सयको सिट संख्यामा रहेको एमाले यस पटक केही दर्जनमा झर्ने उनले ठोकुवा गरे । जिल्ला पार्टी कार्यालयमा शुक्रवार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष रेग्मीले एउटै सिट नजित्ने भनेर आफ्नो पार्टीलाई होच्याउने एमाले हिजोको तुलनामा पतन हुने दावी गरे ।

पत्रकार सम्मेलनमा केन्द्र तथा प्रदेशको कार्ययोजनाअनुरुप संगठन सुदृढीकरण तथा निर्वाचनको अभियानको तयारीका लागि सबै शक्ति केन्द्रित गर्दै जाने, चुनावका लागि आवश्यक वार्ता, संवाद, तालमेल, गठबन्धन गर्ने र गठबन्धनमा रहेका दलहरुबीचको साझा सहमति गर्नका लागि जिल्ला अध्यक्ष रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको जानकारी गराइएको थियो । समितिले केन्द्रीयस्तरमा हाल कायम रहेको गठबन्धनलाई जिल्ला, पालिका र वडास्तरसम्म कायम राखेर लैजान छलफल र संवाद थालेको छ । जिल्लाका सबै पालिकामा आफ्नो पार्टीको सम्मानजनक उपस्थितिका लागि चुनावी तालमेल गर्ने प्रयास भइरहेको समितिका संयोजक समेत रहेका अध्यक्ष रेग्मीले बताए ।

‘हामी नगर प्रमुख ,उपप्रमुख , वडाध्यक्ष , वडा सदस्य सबै पदमा दावी गर्छौं ’उनले भने ,‘सबै ठाउँमा सहभागिता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । ’ उनले आफूहरुको पार्टी झापामा राम्रै शक्तिको रुपमा स्थापित भइरहेको बताउँदै हाल ७ हजार४६ जना कार्यकर्ता रहेको जानकारी दिए ।
गत चैत १४ गते बसेको झापा जिल्ला कमिटीको चौथो पूर्ण बैठकले गरेका निर्णयका बारेमा पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

सो बैठकले जिल्ला कमिटीको बाँकी रहेका पदाधिकारीहरु, कार्यालय कमिटी, सचिवालय चयन गर्नुका साथै १५ वटै पालिकाका इन्चार्ज, भातृ संगठन, मोर्चाका इन्चार्ज, संघीय इकाई र प्रदेश इकाईका संयोजक र सचिवलाई तोकेको संगठनका जिल्ला प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए । साथै, आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष तयारीका लागि ११ सय जनाको जिल्ला प्रचारप्रसार कमिटी गठन गरेर अगाडि बढेको समेत उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्