कुमरखोद, चैत १९ । नजिकिँदै गएको स्थानीय तहको चुनावी चहलपहल झापामा बढेको छ ।

स्थानीय तहको चुनाव नजिकै जाँदा झापा गाउँपालिकाका नेता कार्यकर्ताहरुको चिया पसल र होटलहरुमा भीडभाड देखिदैँछ । चियाको चुस्की लिँदै कोही नेता आफूलाई गापा अध्यक्षको आकांक्षी बताउँछन् भने कोही आफैले आफूलाई वडा र परिषद सदस्यको घोषणा गरेको सुनिन्छ ।
झापा गाउँपालिकामा अरु पार्टीको खासै चहलपहल नदेखिए पनि काँग्रेस र एमालेको चहलपहल भने धेरै नै छ ।
एमाले पार्टीबाट गाउँपालिकाको अध्यक्षमा ३ जना आकांक्षी देखिएका छन् । आकांक्षीहरुमा गजेन्द्र ताम्ली , रंगलाल दाहाल र गौंरीशंकर राजवंशी रहेका छन् । पार्टीको हैसियतमा गजेन्द्र ताम्ली एमाले गाउँपालिका कमिटीको अध्यक्ष हुन् भने गौंरीशंकर राजवंशी उपाध्यक्ष हुन् । त्यस्तै रंगलाल दाहाल जिल्ला कमिटीको सदस्य हुन् ।
त्यसैगरी कांग्रेसबाट झापा गाउँपालिका सभापति सागिरथ गणेशले आफूले गाउँपालिकाको अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा नै गरेका छन् । आफूले अध्यक्ष पदमा जिते भने झापा गाउँपालिकालाई देशकै नमुना गाउँपालिका बनाउने घोषणा गरेका छन् । झापा गाउँपालिकाका जनताले मृत्यु संस्कार वापत पाउने १० हजार रुपैयाँलाई बढाएर २० हजार रुपैयाँ पु¥याउने उनले घोषणा समेत गरेका छन् । त्यस्तै गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई निशुल्क शिक्षा दिँदै आएकोमा आफूले जिते क्याम्पससम्मको अध्ययन निशुल्क गराउने एजेन्डा सार्वजनिक गरेका छन् । गणेश २०४८ सालदेखि नेपाली काँग्रेसमा सकृय रुपमा काम गदैं आएका छन् । पेशाले उनी एक व्यापारी हुन् ।