पथरीशनिश्चरे, चैत २० । पूर्वोत्तर मोरङको उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले सरकारी गाडी फिर्ता गरेका छन् ।

शनिबार उर्लाबारीमा पत्रकार सम्मेलन गरी आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको गाडी नगरपालिकालाई फिर्ता गरेका हुन् ।
चुनाव आउन लागेर भन्दा पनि कार्यपालिका बैठकबाट विकास योजना अघि बढाउन नसकेकाले नैतिक रुपमा अप्ठ्यारो परेको भन्दै गाडी फिर्ता गरेको उनले बताएका छन् ।

गत चैत १६ गते उर्लाबारी नगरपालिका कार्यपालिकाको बैठक बसे पनि बैठकमा प्रस्तुत भएका प्रस्ताव अघि बढाउन नेकपा एमालेबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीसहित बहुमतप्राप्त कार्यपालिका सदस्यहरुले नमानेपछि निर्णय हुन सकेन ।
‘विभिन्न कार्यविधि निर्माणका साथै प्रत्येक वडामा तीस लाखका दरले सडक कालोपत्रे साथै अन्य विविध गरी ६ करोड ३७ लाखको सञ्चित कोषको बजेटबाट विकासलाई अघि बढाउन खोजेका थियौं’– मेयर फागोले भने, ‘कार्यपालिकामा बहुमत रहेका नेकपा एमालेका साथीहरुले निर्णय गर्न नदिएपछि विकास रोकिएको छ । यस्तो अवस्थामा सरकारी गाडी चढेर हिड्नु उपयुक्त नहुने ठहर गर्दै आफूले चलाएको सवारी गाडी फिर्ता गरेको हुँ ।’

उनले काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुलाई पनि मोटरसाइकल फिर्ता गर्न आग्रह गरेका छन् । एमालेको अवरोधका कारण जनताको काम गर्न नसकेकोमा दुःख व्यक्त गर्दै फागोले चैत महिनादेखि आफूले सेवा सुविधा नलिने बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्