झापा, चैत २० गते । शिवसताक्षी नगरपालिकाको नगर गौरवको योजना अनुरुपको चक्रपथ निर्माण सकिएको छ ।
चक्रपथ निर्माण भएसँगै स्थानीयवासीसमेत खुसी भएका छन् । शिवसताक्षी नगरपालिका-३ का ७९ वर्षीय नन्दबहादुर भुजेलले आफ्नै आँगनको डिलसम्म कालोपत्र सडक निर्माण भएकोमा खुसी व्यक्त गरे । उनले बताए , “हिउँदमा साइकलमा आवतजावत गरे पनि वर्षाको समयमा चप्पल खोलेर हिँड्थ्यौँ, अब सरसर कालोपत्र बाटोमा हिँड्न पायौँ ।” नगरमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै पञ्चवर्षीय योजनाअनुरुप चक्रपथ निर्माण सुरु भएको थियो । सो रोड निर्माणका लागि हालसम्म रु २० करोडको लगानी भइसकेको नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए । नगरका सबै वडासम्म कालोपत्र पुर्याउने उद्देश्यले बनाइएको रिङरोडका लागि सबै सडकमा ग्राभेल र कल्भर्ट निर्माण गर्ने काम सकिएको उनको भनाइ छ । उनले ३९ किलोमिटर रिङरोडमध्ये हालसम्ममा १० किलोमिटर बढी कालोपत्र भइसकेको बताए । रिङरोडभित्रै करिब नौ किलोमिटर क्षेत्र पूर्वपश्चिम राजमार्गको परेको छ । बाँकी कालोपत्र गर्ने काम धमाधम भइरहेको छ । नगरप्रमुख शेर्माले ३९ किलोमिटरको रिङरोड निर्माणका लागि रु सात करोड केन्द्रीय सरकार, रु एक करोड ३० लाख प्रदेश नं १ सरकारको लगानी र बाँकी रु ११ करोड ७० लाख नगरको रहेको बताए । चक्रपथ भित्र मात्रै ५३ वटा साना-ठूला कल्भर्ट निर्माण गरिएको उनले जानकारी दिए । सबै वडालाई सडक सञ्जालमा जोडेर नागरिकलाई सहज आवतजावत गर्न चक्रपथ प्रभावकारी हुने नगर उपप्रमुख भोजकुमारी नेपालले बताए । चक्रपथ निर्माणसँगै पर्यटकीय गन्तव्यका रूपमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकका लागिसमेत सहज भएको छ । चक्रपथलाई दुधे-शिवगञ्ज, झिलझिले-महाभारा र धरमपुर-पाँचगाछीको वैकल्पिक मार्गको रूपमा समेत गर्न सकिने उहाँको भनाइ छ ।
चार ट्रङ्करोड
चक्रपथबाट सिधा शिवसताक्षी नगर कार्यपालिकाको कार्यालयमा जोडिन चार ‘ट्रङ्करोड’ निर्माण गरेको छ । नगरप्रमुख शेर्माले रु तीन करोड ६३ लाखको लागतमा सो सडक निर्माण गरिएको जानकारी दिए । शुक्रबारे-लालझोडा, बहिदार चोक हुँदै नगरपालिका, मङ्गलबारे-धौलेचोक हुँदै नगरपालिका, पारावारी-सरस्वती प्राथमिक विद्यालय-धौलेचोक हुँदै नगरपालिका र माईधार-चिल्लागढ हुँदै नगरपालिकासम्म पुग्ने ट्रङ्करोड निर्माण गरिएको उनको भनाइ छ ।