पथरीशनिश्चरे, चैत २१ । मोरङको कानेपोखरी गाउँपालिकामा संचालित अन्तरपालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि लेटाङ नगरपालिकाले चुमेको छ ।

आइतबार भएको फाइनल खेलमा बेलवारी नगरपालिकालाई शुन्यका विरुद्ध २ गोलले हराउँदै लेटाङले उपाधि चुमेको हो । कानेपोखरी खेलकुद परिषदद्वारा आयोजित प्रतियोगितामा लेटाङका लागि खेलको दोेस्रो हाफपछि ५० र ६५ औं मिनेटमा अनुप मगर र सागर बिकले १–१ गोल गरेर सहज जित हासिल गरेका थिए । खेलको अन्य समयमा दुवै तर्फबाट निकै आकर्षक प्रयासहरु भएपनि गोल भने हुन सकेन ।

उपाधि चुमेसंगै लेटाङले १ लाख नगद तथा उपविजेताले ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विद्यागततर्फ बेस्ट कोच लेटाङका इन्द्र राई, बेष्ट गोलकिप्पर बेलबारीका सन्तोष दनुवार, बेष्ट डिफेन्डर लेटाङका राजु मगर, बेष्ट मिडफिल्डर बेलबारीका भक्त भण्डारी, बेष्ट फरवार्ड लेटाङका सागर विक र हाइस्कोरर लेटाङका आयुस लिम्बु र अनुप मगर घोषित भए । उनीहरुले जनही ३ हजार, मेडल र ट्रफी प्राप्त गरेका थिए भने बेलबारीका पारस खत्रीे सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले ५ हजार नगद, ट्रफी, मेडल प्राप्त गरेका हुन्।

समापन कार्यक्रममा कानेपोखरीबाट राष्ट्रिय र अन्तर्रास्ट्रिय स्तरमा खेलकुदमा ख्याति कमाउन सफल बलबहादुर गुरुङ, डेनिम राई, सन्दिप सुनार, मणिकुमार राई, गंगा गुरुङ, जमुना गुरुङ र विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेलेर विश्व रेकर्ड राख्न सफल महिला खेलाडी दिपा अधिकारीलाई कानेपोखरी खेलकुद परिषदले सम्मान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्