झापा , चैत २१ । ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ ।

हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो । समुद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार २०० मिटरसम्मका उचाइमा पर्ने क्षेत्रका किसान अहिले आलु रोपाइँमा व्यस्त भएको फक्ताङलुङ गाउँपालिका-६ घुन्साका किसान केल्साङ शेर्पाले जानकारी दिए । उच्च हिमाली क्षेत्र भएकाले आलुबाहेक अन्य बाली हुँदैन । जिल्लाको हिमाली बस्ती ओलाङचुङगोला चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा, फले, क्याप्लालगायत क्षेत्रमा बसोबास गर्ने किसानको आलु मुख्य खेती हो । एक घर परिवारले २० मुरी (२० पाथीको एक मुरी) अर्थात् एक हजार ६०० केजीसम्म आलुको बीउ रोप्ने गरेको शेर्पाले बताए । दश मुरी आलु रोपाइँ गर्दा ९० मुरीसम्म आलु उत्पादन हुने स्थानीय बताउँछन् । हिमाली क्षेत्रमा हिमपात हुन रोकिएपछि आलु रोपाइँको चटारो लाग्ने गर्दछ । चैत महिनामा रोपेको आलु असोज महिनामा खन्ने गर्दछ । घुन्सा र याङमा क्षेत्र आलु बीउको भण्डारणको रुपमा लिन सकिन्छ । यस क्षेत्रमा उत्पादन भएको आलु मङ्सिर र पुस महिनामा आलु व्यापारका लागि घुन्सा क्षेत्रमा उत्पादन भएको आलु याकमार्फ ढुवानी गरेर एक दिन लगाएर फले क्षेत्रमा भण्डारण गर्ने गर्दछ । उता याङमा क्षेत्रमा उत्पादन भएको आलु दुई दिन लगाएर चेने भन्ने ठाउँमा भण्डारण गर्ने गर्दछ । चेनेमा फक्ताङलुङ गाउँपालिकाले आलु भण्डारणका लागि संरचनासमेत निर्माण गरेको छ । आलुको बीउ लिनका लागि फक्ताङलुङ गाउँपालिका तल्लो क्षेत्रका किसान, फुङ्लिङ नगरपालिकालगायतका क्षेत्रका किसान तीन/चार दिन पैदलयात्रा गरेर आलु भण्डारण क्षेत्रसम्म पुग्ने गर्दछ । तल्लो क्षेत्रका किसानले कोदो, मकैजस्ता अन्न लिएर आलु बीउ साट्न आलु भण्डारण क्षेत्रसम्म पुग्ने गर्दा छ ।

तल्लो क्षेत्रका किसान आलु भण्डारण क्षेत्रमा पुगेर कोदो र आलु साटासाट गर्ने गर्दछ । हिमाली क्षेत्रमा आलुबाहेक अन्य खेतीपाती हुँदैन । यसैले आलु र कोदो, मकैजस्ता अन्नसँग आलु साटासाट गरेको हो । आलु भण्डारणको रुपमा रहेको याङमा, घुन्सा, फले क्षेत्रमा गएको दुई वर्षदेखि आलु उत्पादनान ह्रास आएको घुन्साका किसान टासी तेन्जिङले बताए । विगतका वर्षहरुमा आलुको हव बनेको याङमा र घुन्सा क्षेत्र दुई वर्षयता आलु उत्पादनमा कमी आउन थालेको छ । आलु उत्पादनमा ह्रास आउन थालेसँगै आलुको बीउ जोगाउन नै मुस्किल हुँदै आएको स्थानीयको भनाइ रहेको छ । विगतका वर्षमा याङमा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु बीउ जिल्लाको धेरै क्षेत्र खेती हुने गर्दथ्यो तर आलु उत्पादनमा ह्रास आउन थलेसँगै याङ र घुन्सा क्षेत्रमा मात्र सीमित हुँदै गएको शेर्पाले बताए । शेर्पाले भने, “आलु उत्पादनमा कमी आउन थालेको दुई वर्ष भयो । यहाँ उत्पादन भएको आलु बीउ जोगाउन मुस्किल भएको छ । तरकारी खानको लागि मधेसको आलु ल्याएर खाँदै आएका छौँ । आलु बीउको भण्डारण क्षेत्र याङमा र घुन्सा क्षेत्रमा आलु उत्पानमा ह्रास आएसँगै तल्लो क्षेत्रका किसानमा प्रत्यक्ष असर पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्