झापा, चैत २१ । विगतमा बरामद भएको तथ्यलाई केलाउँदा साना तथा अवैध हतियार स्थानीय निर्वाचनका लागि प्रमुख चुनौती हुने देखिएको छ ।

भारतसँग खुल्ला सीमा जोडिएको नेपालको झापा , सुनसरी र मोरङमा साना हतियार चुनौती बन्ने देखिएको छ । यसबीचमा गृह मन्त्रालयको निर्देशनमा जिल्लास्थित प्रशासनले हतियार बुझाउनका लागि सूचना जारी गरिसकेको छ । यो हतियार वैध रूपमा राखेकाहरूलाई सूचना जारी गरिएको हो । अवैध रूपमा रहेका हतियार भने यसबेला चलखेल हुने अनुमान प्रहरीको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ । चुनावकै हिसाबले हेर्दा पनि सुनसरीमा ४४ वटा मतदानस्थल अति संवेदनशील क्षेत्रमा पर्छन् भने ८० वटा संवेदनशीलमा पर्छन् । सुनसरीका १ सय ६६ वटा मतदानस्थल छन् । ४२ वटा मतदान केन्द्रलाई भने सामान्य अवस्थामा राखिएको छ । सुनसरी प्रहरीको तथ्याङ्कअनुसार २०७६/०७७ सालमा हातहतियार सम्बन्धी आठवटा मुद्दा दर्ता भएकोमा १५ जना पक्राउ परेका थिए भने सो क्रममा मेड इन युएसए लेखिएका तीनवटा पेस्तोल, इन्डियन पेस्तोल तीनवटा, कटुवा भरुवा तीनवटा, क्यानडा बन्दुक एउटा र २९ राउन्ड गोली बरामद गरेको थियो ।

यसैगरी आर्थिक वर्ष २०७७/०७८ सालमा हातहतियारसम्बन्धी जम्मा आठवटा मुद्दा दर्ता भएकोमा त्यसक्रममा १३ जना व्यक्ति पक्राउ परेका थिए । मेड ईन युएसए लेखिएको दुईवटा पेस्तोल, इन्डियन पेस्तोल एउटा, कटुवा पेस्तोल तीनवटा, भरुवा चारवटा, एयर गन एउटा, २७ राउन्ड गोली र एउटा म्याग्जिन बरामद गरेको प्रहरीको तथ्याङ्क छ । त्यस्तै चालु आर्थिक वर्षको हालसम्म हातहतियारसम्बन्धी पाँचवटा मुद्दा दर्ता भएकोमा सो क्रममा नौ जनामाथि मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । यसक्रममा दुईवटा कटुवा पेस्तोल, चारवटा पेस्तोल, आठ राउन्ड गोली र ६ थान म्याग्जिन बरामद गरिएको उनले जानकारी दिए । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षा चुनौती थपिएको हो । विभिन्न समयमा आपराधिक गतिविधिमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोल बरामद हुने गरेको पाइएको सुनसरी प्रहरीको तथ्याङ्क छ । खुल्ला सीमाको फाइदा उठाएर सुनसरीमा भारतबाट अवैध रूपमा साना हतियार ल्याएर धाकधम्की, डर-त्राससँगै आपराधिक घटना घटाउने र अन्य जिल्लामा लगेर विगतमा बिक्री गर्ने गरेको पाइएकाले त्यसलाई निस्तेज पार्न सुरक्षाकर्मी सक्रिय रूपमा लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले बताए । खुल्ला सीमाको फाइदा उठाउँदै अपराधमा संलग्न व्यक्तिहरूले साना हतियारहरू भित्रयाउने गरेका छन् । हातहतियारको आडमा हत्या, अपहरण, चन्दा तथा फिरौती असुली, लुटपाटलगायतमा संलग्न हुने गरेका कारण पनि सुनसरी संवेदनशील क्षेत्रमा पर्दछ । भारतीय सीमासँग जोडिएको सीमावर्ती क्षेत्रमा निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूणर् वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती क्षेत्रहरूमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको उनको भनाइ छ । भारतीयहरूको उपस्थिति र बढ्दो मदिराजन्य कारोबारले शान्ति सुरक्षामा खलल पुग्न सक्ने भएकाले त्यस्ता कार्य नियन्त्रण गर्न सुरक्षाकर्मीले निगरानी बढाएको छ ।
हतियार बुझाउन प्रशासनको परिपत्र
स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले आमनागरिकसँग भएका वैध हातहतियार प्रशासनलाई बुझाउन निर्देशन दिएको छ । सुनसरी जिल्लाभित्र इजाजत प्राप्त गरी राखिएका विभिन्न किसिमका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भए पश्चात् फिर्ता पाउने गरी सुनसरी प्रहरीलाई पन्ध्र दिनभित्र बुझाउन सुनसरी प्रशासनले सबैमा सूचित गरेको छ । सुनसरीमा दर्ता भएका ४ सय ८८ विभिन्न हातहतियार रहेको सुनसरी प्रशासनको भनाइ छ । सुनसरी मात्रै हैन, गृह मन्त्रालयको निर्देशनमा सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयले वैध हतियार प्रहरीमा बुझाउनका लागि निर्देशन गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्