भद्रपुर, चैत २१ । टाइफाइडबिरूद्ध भद्रपुरमा १७ हजार ९ सय १६ जना बालबालिकालाई खोप लगाइने भएको छ ।

स्वास्थ्य शाखा भद्रपुरको आयोजनामा भएको राजनीतिक दल, सरोकारवाला शाखा प्रमुख तथा सञ्चारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियानअन्तर्गत बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाइने भएको हो ।

१५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका १७ हजार ९ सय १६ जना बालबालिका भद्रपुर नगरपालिकाभित्र रहेको जानकारी दिँदै स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले यो खोप लगाउन सवै पक्षको सहयोगको खाँचो औंल्याएका छन् ।

स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले सहजीकरण गर्दै अन्य उमेर समूहमा भन्दा १५ महिनादेखि १५ वर्षसम्मका समूहका व्यक्तिहरूलाई रोगको संक्रमण ११ गुणा बढी हुने भएकाले पनि पहिलो चरणमा लक्षित समूहले खोप लगाउनै पर्ने प्रष्ट पारेका छन् । विद्यार्थीहरुलाई विद्यालयमै र विद्यालय नजाने बालबालिकाहरूलाई निर्धारित खोपकेन्द्रमा यो सेवा उपलब्ध हुने पनि उनले बताए ।

उनका अनुसार दुई सयभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयलाई नजिकको केन्द्रमा खोप लगाउने प्रबन्ध मिलाइएको छ भने सोभन्दा बढी विद्यार्थी रहने विद्यालयमै खोपकेन्द्रका रूपमा चैत २५ गतेदेखि ७ दिनसम्म खोप लगाइने छ । खोप लगाएपछि केही शारीरिक प्रतिक्रिया आउन सक्ने भए पनि कुनै क्षति नहुने हुँदा नडराउन समेत भट्टराईले आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्