इलाम, चैत २१ । नेपाली कांग्रेस गाउँपालिका सदस्य कृष्णबहादुर खड्कालाई हातपात गर्ने फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडित खड्काले प्रहरीमा उजुरी दिएपछि उपाध्यक्ष राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष राईले गत चैत १८ गते गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको निवासमा पसेर सोही पालिका वडा नम्बर १ का खड्कामाथि कुटपिट गरेको भन्दै बिरोध सुरु भएको थियो । उपाध्यक्ष राईको कुटपिटबाट घाईते खड्का काँग्रेस फाकफोकथुम गाउँपालिकाका सदस्य हुन् । खड्काले जाहेरी दिएपछि राईलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डिएसपी गंगाबहादुर थापाले उनलाई नियन्त्रणमा लिएको बताए । उनका अनुसार अब म्याद थप गरी अनुसन्धान गर्ने तयारी भइरहेको छ । हाल प्रहरी नियन्त्रणमा रहेकी उपाध्यक्षलाई म्याद थपपछि हिरासतमा राखिने बताइएको छ ।
राईको कुटाइबाट खड्का घाईते भएको घटनाप्रति काँग्रेस इलामले बिज्ञप्ति जारी गर्दै घोर भत्र्सना गरेको छ ।

गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भई यहाँबाट मौसमी कामदार कोरिया लैजाने सहमति भएको थियो । गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट आवेदन आह्वान गरेको थियो । कोरिया जान चाहने ४ सय ७७ युवाले युवाले गाउँपालिकामा आवेदन दिएका थिए । तिनीहरूमध्ये एक सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो । सोही बिषयमा विवाद हुँदा उपाध्यक्ष राईले खड्कालाई हातपात गरेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्