बिर्तामोड , चैत २२ । सत्तारुढ गठबन्धनलाई टक्कर दिनुपर्ने नेकपा एमालेमा बिर्तामोड नगरपालिकाको मेयर पदका लागि ७ जना आकांक्षी देखिएका छन् ।

एकपछि अर्को गर्दै आकांक्षीहरुले आकांक्षा व्यक्त गर्न थालेका छन् । आकांक्षीहरुमा बहालवाला मेयर , उपमेयर , वडाध्यक्षदेखि प्रदेश सांसदसम्म छन् ।

बहालवाला उपमेयर पवित्रा महतारा प्रसाईले सोमवार पत्रकार सम्मेलन गरी मेयरमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेकी हुन् । विगत पाँच वर्षमा काम गर्न सकिन्छ भन्ने कार्यानुभव प्राप्त भएको बताउँदै उनले नयाँ जिम्मेवारी पाए नयाँ योजना ल्याउन सकिने धारणा राखिन् । आवद्ध पार्टी नेकपा एमालेले निर्णय गरेर दिए आफू नगर प्रमुख पदमा उम्मेदवारी इच्छुक रहेको उनले मुख फोरिन् ।

त्यस्तै बहालवाला मेयर ध्रुवकुमार शिवाकोटी अर्को कार्यकाल दोहोर्याउने दाउमा छन् । पहिलो कार्यकालमा सोचेजति काम गर्न नसकेको भन्दै उनले अर्को कार्यकाल पनि मेयर बन्नका लागि लबिङ थालेका छन् ।

त्यस्तै प्रदेश सांसद एकराज कार्की मेयरमा उठ्ने अधुरो इच्छा पूरा गर्नेतर्फ लागेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा उनी पनि मेयरको टिकटको लाइनमा थिए । तर , सबैलाई उछिनेर शिवाकोटीले टिकट हत्याएका थिए । मेयरमा टिकट नपाएका कार्कीलाई पार्टीले प्रदेश सांसदको टिकट थमाएको थियो । मेयरमा उठ्नका लागि उनले कार्यकाल रहँदै प्रदेश सांसद पदबाट राजीनामा दिनुपर्ने हुन्छ । पार्टीले आफ्नो आबश्यकता महसुस गरे आफू मेयरमा उठ्न तयार रहेको उनले बताए । साविक गरामनी गाविसको उपाध्यक्ष र त्यसपछि अध्यक्ष हुँदै उनी प्रदेश सांसद बनेका हुन् । उनी एमालेको प्रदेश कमिटी सदस्य एवं झापा क्षेत्र नं २ ‘क’ को ईन्चार्ज रहेका छन् ।

त्यस्तै झापा क्षेत्र नं २ ‘क’ को सह इन्चार्ज रहेका उमानाथ ओली यसपटक पनि मेयरको दौडमा छन् । मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख ओली गत स्थानीय तहको निर्वाचनमा मेयरको दावेदार थिए ।

त्यस्तै बिर्तामोड वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले आफूलाई राजनीतिक रुपमा अपग्रेड गर्न खोजेका छन् । उनले यसपटकको निर्वाचनमा आफूलाई मेयरको रुपमा अगाडि सार्दै जोडतोडले तयारी थालेका छन् ।

त्यस्तै निजामती सेवा छोडेका देवराज कार्कीले पनि मेयरमा उठ्ने इच्छा व्यक्त गर्दै आएका छन् । राजनीति गर्नकै लागि भनेर उनले अवधि बाँकी रहँदै गत कात्तिकमा जागिरबाट राजीनामा दिएका थिए । आफू पनि मेयरको लागि आकांक्षी भएको उनले बताएका छन् ।

त्यस्तै पार्टीका नगर कमिटी अध्यक्ष सुवास भट्टराईले आफूले पनि मेयरको इच्छा राखेको बताएका छन् । नगरका कार्यकर्ताहरुले दिएको म्यान्डेट अनुसार आफ्नो दावेदारी रहने उनको भनाइ छ ।

नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ । केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको हो ।

स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासन प्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको हो ।

त्यस्तै, उम्मेदवार सिफारिस गर्नका लागि वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँकमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख÷उपप्रमुखको हकमा गाउँ÷नगरकमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर÷ महानगरकमिटीको हकमा सम्बन्धित कमिटीहरुको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेगरी केन्द्रीय कमिटी बैठकबाट टुंग्याइएको छ ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जलकुमार गुरुङलाई मेयर पदमा ८९५ मतले पराजित गरी एमालेका शिवाकोटी निर्वाचित भएका थिए । सो निर्वाचनमा गुरुङले ८ हजार २१७ मत प्राप्त गरेका थिए । राप्रपाबाट उम्मेद्वार बनेका भक्ति सिटौलाले ६ हजार १७० मत ल्याए ।

यस्तै, माओवादीबाट मेयर पदमा निर्वाचन लडेका सीपी कडरियाले ३ हजार ७९७ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा नेपाली कांग्रेस मुख्य प्रतिष्पर्धी रहेको एमालेका लागि यस पटक भने गठबन्धनसंग प्रतिष्पर्धा गर्नुपर्ने ठूलो चुनौती छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्