झापा , चैत २२ । उपचार खर्च तिर्न नसक्दा पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङबुङका ३४ वर्षीय शुक्रबहादुर मगर डेढ महिनादेखि अस्पतालमा बन्धक छन् ।

काठमाडौंको दीर्घायु अस्पताल चावहिलमा फागुन १ गतेदेखि उनी बन्धक बनेका हुन्। उपचार खर्च तिर्न नसक्दा दाजुलाई अस्पतालले बन्धक बनाएको उनकी बहिनी निर्मला मगरले बताइन् । ‘२१४ नम्बरको बेडमा दाजु बन्धक हुनुहुन्छ,’ निर्मलाले भनिन्, ‘दाजुलाई उकास्न नसक्दा दिनप्रतिदिन अस्पतालले बिल बढाइरहेको छ।’ उपचार खर्चमध्ये ४० प्रतिशत रकम भुक्तानी गरिएको निर्मलाको भनाइ छ । ‘अब ७ लाख ३५ हजारभन्दा बढी रकम तिर्न बाँकी छ,’ निर्मलाले भनिन्, ‘अहिलेसम्म रकम जुटाउन सकिएन ।’ अप्रेसन शुल्क, बेड शुल्क, औषधि शुल्क र अस्पताल भर्ना शुल्कको रकम तिर्न बाँकी छ । वैदेशिक रोजगारीका लागि आवेदन भर्न काठमाडौं गएका शुक्रबहादुर उच्च रक्तचापका कारण अचानक बिरामी परेका थिए । उपचारका लागि अस्पताल भर्ना भएका शुक्रबहादुरकोे टाउकोको अप्रेसन गरिएको हो । उक्त अस्पतालका चिकित्सक गोपाल रमण शर्माको समूहले अप्रेसन गरेको थियो । ‘अझै पनि दाजुको एकापट्टिको हातखुट्टा चलेको छैन,’ निर्मला भन्छिन्, ‘थेरापी गर्दा ठीक हुन्छ भनेर चिकित्सकहरूले सल्लाह दिएका छन् । अस्पतालमै बन्धक बनेपछि थप उपचार गराउन पाइएको छैन ।’ दीर्घायु अस्पतालको काउन्टरकी कर्मचारी गंगा श्रेष्ठका अनुसार शुक्रबहादुरका तर्फबाट उपचार शुल्क साढे ५ लाख रुपैयाँ तिर्न बाँकी रहेकाले उनलाई अस्पतालमै राखिएको हो । यस विषयमा बिरामीका आफन्तलाई जानकारी गराएपछि उनी बेपत्ता भएका श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्