विराटनगर, चैत २२ । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु भएको छ ।

विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेलमैदानमा मंगलबार भएको खेलमा विराटनगर र राजविराज विजयी भएका छन् ।

मंगलबारको पहिलो खेलमा आयोजक विराटनगरले झापाको मेचीनगर नगरपालिकालाई ३६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनको सामान्य योगफल खडा गरेको थियो । विराटनगरका लागि सर्वाधिक लव कामत ५७ रनमा अविजित रहे । उनले ५६ बलमा ४ चौका प्रहार गरे । त्यस्तै साकिव हकले १७ रन बनाउँदा मनिस थापाले १५ रन जोडे । मेचीनगरका प्रेम सिंह र विशाल आचार्यले २–२ विकेट लिँदा सुमिरन राई र विराज डाँगीले १–१ विकेट लिए ।

१ सय २३ रनको सामान्य लक्ष्य पाएको मेचीनगरले १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ८६ रनमा सीमित भयो । मेचीनगरका लागि अनिल लामिछानेले ३२ रन जोड्दा अंकित सुवेदीले १६ बनाए । विराटनगरका म्यान अफ द म्याच कप्तान सिद्धान्त लोहनीले ४ विकेट लिए । उनले एक मेडन राख्दै १३ रन दिए । लोहनीबाहेक दिपेश कँडेलले ३ विकेट तथा मुकुन्द यादवले २ विकेट लिँदा रेवती यादवले १ विकेट लिए ।

दोस्रो खेलमा राजविराजले सुनसरीको इनरुवालाई ७६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रनको बनाएको थियोे । राजविराजका लागि रोहन विकले ३९ रन बनाउँदा निरज यादवले ३० र विशाल दासले २० रनको योगदान दिए । रोहनले २५ बलमा १ छक्का र ६ चौका प्रहार गरे । इनरुवाका सोनु मण्डलले ३ विकेट लिँदा भुपाल लुइटेल र गौरव कटुवालले १–१ विकेट लिए ।

१ सय २१ रनको लक्ष्य पाएको इनरुवाले ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ५३ रनमा सीमित भयो । इनरुवाका लागि सोनु मण्डलले सर्वाधिक ९ रन बनाए । राजविराजका म्यान अफ द म्याच अनिल यादवले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ५विकेट लिँदा मेहबुव आलम र अजय यादवले २–२ विकेट लिए ।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेचीनगर नगरपालिका तथा मधेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरपालिका सहभागी भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफी तथा उपविजेताले नगद ५१ हजार ट्रफी पाउनेछन् ।

६ टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटको आधारमा खेलाईएको छ । समूुहको टप दुई टिम सेमिफाइनलमा पुग्ने छन् । चैत २६ गतेसम्म हुने प्रतियोगिता सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ । बुधबारको पहिलो खेल विरगञ्ज र मेचीनगर तथा दोस्रो खेल इनरुवा र जनकपुरबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्