विराटनगर , चैत २३ । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा भइरहेको प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा विरगञ्ज र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् ।

विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेलमैदानमा पहिलो खेलमा विरगञ्जले झापाको मेचीनगर नगरपालिकालाई ८ रनले पराजित गरेको छ । लगातार दुई खेलमा पराजित भएपछि मेचीनगर प्रतियोगिताबाट बाहिरिएको छ । मेचीनगर समूह बी को पहिलो खेलमा आयोजक विराटनगरसँग ३६ रनले पराजित भएको थियो । सो समूहबाट विरगञ्जसँगै आयोजक विराटनगर सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर र विरगञ्जबीच समूह विजेताको लागि विहीबार लिगको अन्तिम खेल हुने छ ।

टस जितेर ब्याटिङ गरेको विरगञ्जले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २८ रनको योगफल खडा गरेको थियो । विरगञ्जका लागि हसिम अन्सारीले ३७ बनाउँदा साहिल पटेलले ३२ रन जोडे । पटेलले १४ बलमा २ छक्का र २ चौका प्रहार गरे । मेचीनगरका अंकित सुवेदीले ३ विकेट लिँदा विशाल आचार्यले २ विकेट लिए ।
१ सय २९ रनको लक्ष्य पाएको मेचीनगरले पुरै ओभर खेल्दै ३ विकेट गुमाई १ सय २० रन मात्र बनाउन सक्यो । मेचीनगरका लागि सुवाङर उराँवले अविजित ४५ रन बनाउँदा अंकित सुवेदीले ३३ र अनिल लामिछानेले अविजित २६ रन बनाए । विरगञ्जका म्यान अफ द म्याच हसिम अन्सारी ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए ।

दोस्रो खेलमा जनकपुरले सुनसरीको इनरुवालाई ७ विकेटले पराजित गरेको छ । जनकपुर एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । लगातार दुई खेलमा पराजित भएसँगै इनरुवा प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए मा जनकपुरसँगै राजविराज पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको इनरुवाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ११ रनको बनाएको थियोे । इनरुवाका लागि विवेक मेहताले ४७ रन बनाउँदा रविन मण्डल २५ रनमा अविजित भए । जनकपुरका साइमन राय र हरिशंकर साहले समान २–२ विकेट लिँदा दिनेश सहनी र सुमित मण्डलले १–१ विकेट लिए । १ सय १२ रनको सामान्य लक्ष्य पाएको जनकपुरले १८ दशमलव ३ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो । जनकपुरका लागि म्यान अफ म्याच हिमांशु दत्त ४२ रनमा अविजित हुँदा हरिशंकर साहले ३३ रन र अकबर अली २० रनमा अविजित भए । इनरुवाका विकल्प आचार्य, सरोज बस्नेत र शिवम् यादवले १–१ विकेट लिए ।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेचीनगर नगरपालिका तथा मधेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरपालिका सहभागी भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफी तथा उपविजेताले नगद ५१ हजार र ट्रफी पाउने छन् ।

६ टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटको आधारमा खेलाईएको छ । समूहको टप दुई टिम सेमिफाइनलमा पुग्ने छन् । चैत्र २६ गतेसम्म हुने प्रतियोगिता सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ । विहीबारको पहिलो खेल जनकपुर र राजविराजबीच तथा दोस्रो खेल आयोजक विराटनगर र विरगञ्जबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्