झापा , चैत २४ । उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडुवामा एक बृद्धाको शंकास्पद मृत्यु भएको छ ।

७२ वर्षिया सुखिदेबी चौधरीको घरमै शंकास्पद मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराकाअनुसार हिजो राती करिब ८ बजेतिर उनको मृत्यु भएको हो । मृतकको श्रीमान् बच्चुलाल चौधरी दिउँसो बजार गएको र साँझमा घर पुग्दा मृत अवस्थामा श्रीमती भेटेको बताए । दिउँसै उनको मृत्यु भएको प्रहरीको अनुमान छ । “राती परेपछि खबर आयो, तर, बृद्धको दिउँसै मृत्यु भएको हाम्रो अनुमान छ ।” एसपी बोहोराले बताए “दिउँसै श्रीमान् बजार गएको र राती फर्किदा श्रीमती मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गर्यो ।” मृतकले कानमा लगाएको सुनको गरगहना र घरमा राखेको गहनासमेत हराएको परिवारका सदस्यले जनाएका छन् । गहना हराएकाले घटना शंकास्पद बनेको नाती जागेश्वर चौधरीले बताए । लाशको प्रकृति हेर्दा चोटपटक केही नरहेको सामान्य देखिए पनि गरगहना हराएकाले घटना शंकास्पद बनेको प्रहरी प्रमुख एसपी बोहोराको भनाई छ । खबर लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले राती नै प्रकृति मुचुल्का उठाई, लाश पोष्टमार्टमका लागि उदयपुर अस्पताल लगिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्