बिर्तामोड , चैत २८ । दुई महिनादेखि तलब नपाएपछि बिर्तामोड १० स्थित विराट आधारभूत विद्यालयका शिक्षकहरुले विद्यालय प्रशासनमा तालाबन्दी गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक बद्री बाँस्कोटाका कारण विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरुको तलब रोक्का भएको हो । विद्यालयमा कार्यरत ३ जना आयाहरुले माघदेखिको र १९ जना शिक्षक कर्मचारीहरुले फागुनदेखि तलब पाएका छैनन् । तलबविहीन शिक्षक कर्मचारीहरुले तालाबन्दी गर्नुअघि चैत २० गते विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ , विद्यालय प्रशासन , वडा कार्यालय र नगर शिक्षा शाखालाई आफ्नो समस्याबारे जानकारी गराउँदै ध्यानाकर्षणपत्र बुझाएका थिए । तर, आफूहरुको समस्याप्रति कोही पनि गंभीर नभएपछि तालाबन्दी गर्नुपरेको शिक्षक रंगलाल न्यौपानेले बताए । उनले तालाबन्दी गर्दा समेत सुनुवाई नभए भोलिदेखि पठनपाठन ठप्प पार्ने र आगामी बैशाख ४ गतेदेखि हुन लागेको वार्षिक परीक्षा पनि संचालन नगर्ने चेतावनी दिए । कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रधानाध्यापक बाँस्कोटाले विगत दुई वर्षदेखिको विद्यालयको लेखा परीक्षण र सामाजिक परीक्षणको रिपोर्ट नबुझाउँदा र नगर शिक्षा शाखाले सोधेको स्पष्टीकरणको जवाफ नदिँदा शाखाले सम्पूर्ण शिक्षकको तलब रोक्का गरेको हो । आफूहरुले अघिल्लो महिनाको १५ गते नै प्रधानाध्यापकलाई लेखा र सामाजिक परीक्षणको रिपोर्ट ल्याउन भन्दा नल्याएको र सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि तलब रोक्का गर्नुपरेको नगर शिक्षा अधिकारी तिलचन भण्डारीले बताए । उनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले त्यसबारे लिखित प्रतिवद्धता जनाए तलब निकासाका लागि पहल गर्न सकिने आश्वासन दिए ।

प्रधानाध्यापक बाँस्कोटा चैत १६ गतेदेखि विदामा बसेका छन् । आफू विरामी भएकाले विदामा बसेको बताउँदै उनले शिक्षकहरुको तलब निकासा गर्न र तालाबन्दी खोल्न पहल भइरहेको जानकारी दिए । उनले अस्वस्थताका कारण नगर शिक्षा शाखाले मागेको रिपोर्ट दिन नसकेको बताए । विद्यालयले २०७६÷०७७ र २०७७÷ ०७८ को लेखा परीक्षण रिपोर्ट तयार गरेको छैन । त्यस विद्यालयमा अनियमितताको आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्