मेचीनगर, चैत २९ । मेचीनगर नगरपालिकाको मेयरका आकांक्षी बनेका नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले टिकट नपाउने भएपछि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

काँकरभिट्टा निवासी एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटीका संयोजक समेत रहेका नेता घिमिरे तत्कालीन काँकरभिट्टा गाविसको अध्यक्ष रहेका थिए । नेता घिमिरेले पार्टी निर्माण र संगठन बिस्तारसंगै जनसेवामा समर्पित हुँदा समेत एमालेले आफ्नो योगदानको कदर नगरेको बताउँदै पार्टी छोडेको बताए । उनले मेयरको आकांक्षा राख्दा आफूलाई पार्टीले रिङआउट गरेको बताए ।

उनले सामाजिक संजालमा लेखेका छन् ,‘ आदरणीय मेरा सहयोगी मित्रहरू पटकपटक ममाथि भएको अन्याय सहन सकिनँ । एउटैलाई थपीथपी जिम्मेवारी र अरुलाई अवसरबाट बन्चित गर्ने चरम गुटबन्दीका नाइकेहरुसंग बसेर पटकपटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मितिबाट नेकपा एमालेको सम्पुर्ण जिम्मेवारीबाट बिदा लिए मलाई माया गर्नुहुने सम्पुर्ण मित्रहरूसंग क्षमा चाहन्छु।’ प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीलाई मेयरमा समेत पार्टीले अगाडि सारेपछि डिल्लीराम घिमिरे , निलकण्ठ तिवारीलगायतका अन्य सबै आकांक्षीहरु रुष्ट भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्