कुमरखोद, चैत २९ । नारी कल्याण समाज अर्जुनधारा झापाले मंगलबार एक कार्यक्रमकावीच विभिन्न विद्यालयहरुलाई नवनिर्मित भवनहरुको चावी हस्तान्तरण गरेको छ ।

झापा गाउँपालिकाको समन्वय तथा नारी कल्याण समाजको सहयोगमा गुड नेर्भर ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा झापा गाउँपालिकाको चारवटा विद्यालयहरुको भौतिक संरचना निर्माण गरिएको छ ।

नारी कल्याण समाजको सहयोगमा ३८ लाख वरावरको भवन निर्माणमा झापा गाउँपालिकाले २० प्रतिशत रकम सहयोग गरेको थियो । भौतिक संरचनामा विद्यार्थी अध्ययन गर्ने दुईवटा कक्षाकोठा , छात्रामैत्री शौचालय र वालमैत्री खानेपानीलगायत छन् । नारी कल्याण समाजकी अध्यक्ष कमला उप्रेती , उपाध्यक्ष सावित्रीदेवी पौडेल र सचिव प्रेमा भट्टराईले संयुक्तरुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुलाई नवनिर्मित भवनको चावी हस्तान्तरण गरेका थिए । त्यस किसिमको सुविधा पाउने विद्यालयहरुमा कुवाडी देवी मावि , महेन्द्र मावि , सरस्वती आवि र सिमलवाडी आवि रहेका छन् ।

नारी कल्याण समाजले विभिन्न दातृ संस्थाहरुसँग सहयोग लिई सामाजिक उत्थानका कार्य र भौतिक संरचना कम भएका विद्यालयहरुलाई सहयोग गर्दै आएको छ । नारी कल्याण समाजले यहि आर्थिक वर्षमा कचनकवल गाउँपालिका र झापा गाउँपालिकाको चारवटा विद्यालयमा भवन निर्माण गरिदिएको थियो । भवन निर्माणका लागि फिल्डमा खटिने गुड नेर्भर ईन्टरनेशनल नेपालका ईन्जिनियर विकीकुमार झा र अधिकृत वावुराम पौड्याललाई कुवाडी देवी माविले दोसल्ला ओढाई कदरपत्रले सम्मान गरेको थियो । त्यसैगरी झापा गाउँपालिकाले पनि नारी कल्याण समाजका पदाधिकारीहरुलाई सम्मान गरेको थियो ।

कुवाडी देवी माविको सभाहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर खतिवडाको अध्यक्षता तथा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । हस्तान्तरण कार्यक्रममा शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकाल , वडा अध्यक्ष नेत्रबहादुर खड्का , प्रअहरु विरेन्द्रप्रसाद गुप्ता , मुकेश कर्ण , नारी कल्याण समाजका सचिव प्रेमा भट्टराई र विद्यार्थी करुणा खत्रीलगायतले बोलेका थिए । कार्यक्रमको संचालन शिक्षक हंशनारायण गणेशले गरेका थिए भने स्वागत मन्तव्य शिक्षिका जमुना न्यौपानेले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्