झापा, चैत ३० । कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तहको चुनावमा सूर्य चिह्न लिएर उठ्ने भएको छ ।

बुधबार थापाथलीस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको हो ।
आगामी चुनावमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमतिमा उल्लेख छ ।
दुई पार्टीले गरेको सहमतिपत्रमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने। निजहरू निर्वाचित भएपश्चात पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने ।’
बुधबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपालगायतका दलहरूसँग चुनावी तालमेल हुन सक्ने बताएका थिए ।
यसैबीच राप्रपा नेपालले झापामा विभिन्न पदमा दावी गरेको छ । चुनावी तालमेलका क्रममा आफूहरुले उपमेयर , वडा अध्यक्ष , वडा सदस्यलगायतका पदहरु दावी गरेको राप्रपा नेपालका जिल्ला अध्यक्ष कमल खरेलले बताए । उनले संभावित ठाउँहरुमा आफूहरुको दावी रहने बताए । त्यसका लागि एमालेका नेताहरुसंग पटकपटक छलफल भएको उनले जानकारी दिए ।‘हामी आन्तरिक छलफलमा छौं ’उनले भने ,‘आधारभूत कुराहरु बसेर टुंग्याउँछौं ।’