कुमरखोद, बैशाख २ । आदिवासी समुदायले झापा गाउँपालिकामा सामूहिक सिरुवा पर्व मनाएका छन् ।

झापा गाउँपालिका वडा नं २ स्थित कुवाडी माविमा आदिवासी समुदायले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा एक अर्कालाई रंग लगाइदिएर र साँस्कृतिक कार्यकम गरी सिरुवा पर्व मनाएका हुन् ।
पालिकाभित्र रहेका १० जातजातिले मिलेर सिरुवा साँस्कृतिक कार्यक्रम समिति गठन गरेका थिए । ती जातिहरु राजवंशी , गणेश , यादव , माझी , ताजपुरिया , कोच , शाह , हलवाई , देशीनाउँ र केवरत रहेका छन् ।

ग्रामदेवता पुजा गर्ने जातजाति मिलेर संयुक्त रुपमा कार्यक्रम गरेको सिरुवा पर्व तथा साँस्कृतिक कार्यक्रमका संयोजक तेजनारायण राजवंशीले बताए । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । स्थानीय कलाकारहरुले गाइन नाच , हरिलोट , नाटुवा नाच तथा जातीय पहिचान झल्काउने नृत्यहरु गरेका थिए । कार्यक्रमको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले गरेका थिए । कार्यक्रममा दुईजनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा दुन माझी र चन्द्रदेव राजवंशी रहेका छन् ।

सिरुवा साँस्कृतिक कार्यक्रमका संयोजक तेजनारायण राजवंशीको अध्यक्षता तथा झापा गाउँपालिका अध्यक्ष शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखक विश्वनाथसिंह राजवंशी , प्रभुनारायण यादव , शिक्षक महासंघका जगन्नाथ राजवशी , माझी कल्याण संघका अध्यक्ष देवी माझीलगायतले शुभकामना मन्तव्य दिएका थिए । जगन्नाथ राजवशीले स्वागत गरेको कार्यक्रमको संचालन देवेन्द्रचन्द्रसिंह राजवंशी र गोविन्द राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्