झापा , बैशाख २ । घोषित स्थानीय निर्वाचन आउन अब २८ दिन मात्र बाँकी छ । चुनावी तालमेल गर्नका लागि भागबण्डा नमिल्दा सत्तारुढ गठबन्धनलाई झापामा साझा उम्मेदवार तय गर्न गाह्रो परिरहेको छ ।

पाँचदलीय गठबन्धनको झापा जिल्ला संयन्त्रको अहिलेसम्मका बहस र छलफलहरु निश्कर्षविहीन बनेका छन् । उम्मेदवारी तालमेल गर्न शुक्रबार पनि पाँचदलीय गठबन्धनको झापा जिल्ला संयन्त्रको बैठक बसेको थियो । दिउँसो २ बजेदेखि साँझ ५.३० बजेसम्म चलेको बैठक निश्कर्षमा पुग्न सकेन ।

यसअघिका र शुक्रबारको बैठकसमेत निश्कर्षविहीन बनेको नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले बताए । गठबन्धन दलहरुले कांग्रेसलाई भाग नै नरहनेगरी उम्मेदवारी मागेपछि सहमति बन्न नसकेको उनले जानकारी दिए । ‘जम्मै माग्छन् कांग्रेसलाई भाग नै नरहनेगरी माग्छन् ’ उनले भने ,‘ अरुलाई सबै दिन सकिदैन ।’ उनले जिल्लाका १५ वटा पालिकामध्ये दमकबाहेक अरु कुनै पनि पालिका प्रमुख दिन नसकिने स्पष्ट पारे । जबकि माओवादी केन्द्र ,नेकपा एकीकृत समाजवादीलगायतका दलहरुले तीनवटाका दरले पालिका प्रमुख मागिरहेका छन् । बहस र छलफल चलिरहेकाले छिट्टै उम्मेदवारी तालमेलको सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईले बताए ।

उता नेकपा एकीकृत समाजवादी झापा जिल्ला कमिटीको बैठकले चुनावसम्बन्धी विशेष कार्ययोजना अगाडि सारेको छ । शुक्रबार बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित सचिवालय बैठकमा आगामी स्थानीय तहको निर्वाचनमा पालिका तहबाट उम्मेदवारहरुको नाम प्रस्ताव पेश गरिएको थियो । बैठकमा १५ वटै स्थानीय तहका कमिटीका तर्फबाट चुनावमा उठ्ने सम्पुर्ण उमेदवारहरुको नामावली पेश गरिएको जिल्ला अध्यक्ष बेदराज रेग्मीले बताए । उनका अनुसार सम्पुर्ण पालिकाबाट नामावली प्राप्त भएको र ती नामबारे गठबन्धनमा छलफल हुने छ ।

गठबन्धनबीचको सहमतिमा उम्मेदवारी तय गरिने र अहिले प्रत्येक वडाबाट ५ जनाकै र प्रमुख उप प्रमुखको नाम प्राप्त भएको जिल्ला प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए ।
बैठकले चुनावका लागि सबै पालिका कमिटीलाई प्रचार कार्ययोजना अगाडि बढाउन र निर्वाचन केन्द्रित काम सुरु गर्न निर्देशन दिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्