बिर्तामोड , बैशाख ३ । नेकपा एमालेसंग चुनावी गठबन्धन गरेको कमल थापाको राप्रपा नेपालले बिर्तामोड नगरपालिकामा उपमेयर दावी गर्ने भएको छ ।

सूर्य चिह्न लिएर चुनावी तालमेल गर्ने निर्णय गरेको राप्रपा नेपालले जिल्लाका १५ वटा पालिकामध्ये बिर्तामोड नगरपालिकाको उपमेयर दावी गर्ने भएको हो । त्यस विषयमा एमालसंग छलफल अगाडि बढाइएको राप्रपा नेपालका जिल्ला अध्यक्ष कमल खरेलले बताए ।‘ हामी बिर्तामोड ,दमकलगायतका पालिकाको उपप्रमुख दावी गर्छौ’उनले भने ,‘संभावित उम्मेदवार भएका ठाउँहरुमा सहमतिका आधारमा केही वडाध्यक्ष पनि माग्छौं ।’ उनले उम्मेदवार तालमेलको विषय दुई दिनभित्र टुंगिने जानकारी दिए ।
राप्रपा नेपालले बिर्तामोडमा उपमेयर दावी गरिरहँदा एमालेभित्र सो पदका लागि देवराज कार्की , भीमा शिवाकोटी , गणेश पोखरेल आन्तरिक निर्वाचनबाट पहिलो , दोस्रो र तेस्रो भएका थिए । उनीहरुलाई नगर कमिटीले उपल्लो कमिटीमा उम्मेदवारका लागि सिफारिस गरे नगरेको थाहा हुन सकेको छैन ।