बिर्तामोड , बैशाख ३ । स्थानीय निर्वाचनको मुखमा पार्टीको सिद्धान्तप्रति असहमति जनाउँदै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित २७५ जनाले पार्टी परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेहरुमा केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वा , केन्द्रीय सल्लाहकार समिति सदस्य गोपिचन्द्र गिरी , जिल्ला कमिटी सदस्यहरु प्रकाश पुरी , महेन्द्रप्रसाद खरेल , गीता कँडेललगायत रहेका छन् ।
उनीहरुले शनिबार प्रेस बिज्ञप्ति जारी गरी एक राष्ट्रवादी नागरिकको हैसियतले यो पार्टीमा बसिरहन नैतिकरुपले नमिल्ने ठहर गरि आजका मितिदेखि उक्त पार्टी परित्याग गरि स्वतन्त्र वामपन्थी नागरिकको रुपमा जीवनयापन गर्ने निर्णय गरेको जनाएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रघाती र नवप्रतिगामी कित्तामा पुगेको ठहर गर्दै विज्ञप्तिमा भनिएको छ ,‘ नेकपा एकीकृत समाजवादीले आजका मितिसम्म सैद्धान्तिक र वैचारिक दृष्टिकोणले, पद्धतिगत र प्रवृतिगत दृष्टिकोणले साथै व्यवहारिक र आर्थिक दृष्टिकोणले पनि पार्टी फुटको औचित्य प्रमाणित गर्न नसकेको र भविष्यमा समेत प्रमाणित गर्न नसक्ने भएकाले र पछिल्लो मितिमा समेत एमसीसीजस्तो राष्ट्रघाती अमेरिकी परियोजनालाई संसदबाट पास गर्न सहयोग पु¥याई पार्टीलाई राष्ट्रघाती र नवप्रतिगामी कित्तामा राखेको हुनाले एक राष्ट्रवादी नागरिकको हैसियतले यो पार्टीमा बसिरहन नैतिकरुपले नमिल्ने ठहर गरि आजका मितिदेखि उक्त पार्टी परित्याग गरी स्वतन्त्र वामपन्थी नागरिकको रुपमा जीवनयापन गर्ने निर्णय गरेका छौं ।’

आफूहरुले पार्टीको स्थापनाकालदेखि नै केन्द्र, प्रदेश, जिल्ला तथा पार्टीको विभिन्न तहमा रही जिम्मेवारी पुरा गर्दै पार्टी फुटको औचित्य प्रमाणित गर्नका लागि पार्टी जीवन परिचालित हुनुपर्छ भनी आवाज उठाउँदै आएको स्मरण गरेका छन् । भर्खर जन्मिएको सो पार्टीका केन्द्रीय सदस्यसहित यति धेरैले सामूहिक राजीनामा दिएपछि पार्टीलाई ठूलो धक्का लाग्ने देखिएको छ ।



