बिर्तामोड , बैशाख ४ । बिर्तामोड १० स्थित विराट आधारभूत विद्यालयका शिक्षकहरुले विद्यालय प्रशासनको तालाबन्दी खोलिदिएका छन् ।

फागुन महिनाको तलब पाएपछि उनीहरुले तालाबन्दी खोलिदिएका हुन् । ताला खोलेर आन्दोलनरत शिक्षक कर्मचारीहरुले आजदेखि वार्षिक परीक्षा संचालन गरेका छन् । उनीहरुले गत चैत २८ गते विद्यालय प्रशासनमा तालाबन्दी गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद बाँस्कोटाका कारण विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरुको तलब रोक्का भएको थियोे । विद्यालयमा कार्यरत ३ जना आयाहरुले माघदेखिको र १९ जना शिक्षक कर्मचारीहरुले फागुनदेखि तलब पाएका थिएनन् । कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बिमलीको उपस्थितिमा ताला खोलिएको हो ।

ताला खोल्दै शिक्षक इन्द्रप्रसाद बाँस्कोटाले रोकिएको फागुन महिनाको तलब निकासा भएपछि आफूहरुले ताला खोलिदिएको बताए । उनले अब फेरि पनि तलब रोकिने कार्य नहोस् भन्दै तलब रोकिए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमलीले शिक्षकहरु आफ्नो हक अधिकारका लागि तालाबन्दीमा बाध्य भएर उत्रिएको बताए । उनले आफूहरुले प्रधानाध्यापक बाँस्कोटालाई विद्यालयको बाधा अड्काउ फुकाउन पटक पटक आग्रह गर्दा वास्ता नगरेका कारण नगरपालिकाले सम्पूर्ण शिक्षकहरुको तलब रोकेको जानकारी दिए । उनले ताला खोलिदिएर शिक्षकहरुले विद्यार्थीहरुको परीक्षा संचालन गरेकोमा धन्यवाद दिए । विद्यालयमा परीक्षा संचालन भइरहँदा प्रधानाध्यापक बाँस्कोटा भने चैत १६ गतेदेखि विदामा बसेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्