बिर्तामोड , बैशाख ६ । जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराज भोलि बिर्तामोड आउने भएका छन् ।

जनकपुरबाट विराटनगर , उर्लाबारी हुँदै उनी भोलि साँझ बिर्तामोड आइपुग्ने कार्यक्रम रहेको छ । जगतगुरु शंकराचार्यको स्वागत सम्मानका लागि वेदप्रकाश अग्रवालको संयोजकत्वमा शंकराचार्य स्वागत समारोह आयोजक मूल समिति गठन गरिएको छ । चार दिनअघि गठित सो समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जगतगुरु शंकराचार्यको स्वागत सम्मानका लागि गरिएको तयारीबारे जानकारी दिएको छ ।

उर्लाबारीको मावा खोलादेखि उनलाई मोटरसाइकल र्यालीसहित भव्य स्वागत गर्दै साँझ ५.३० बजे विवेकानन्द गुरुकुल चारपानेमा ल्याइपुर्याउने र त्यसपछि रात्रीबास अतिथि सदन बिर्तामोडमा राख्ने कार्यक्रम छ । त्यसको भोलिपल्ट बिहीबार नित्यकर्म गरिसकेपछि बिहान ११.३० बजेदेखि धर्मसभा आयोजना गरिने संयोजक अग्रवालले जानकारी दिए । धर्मसभामा अन्तरक्रिया पनि राखिएको उनले बताए ।

कार्यक्रममा धर्मगुरु किशोरकुमार गौतमले जगतगुरु शंकराचार्यको बिशेषताका बारेमा प्रकाश पारेका थिए । शंकराचार्य स्वागत समारोह आयोजक मूल समितिका कोषाध्यक्ष कुमार भट्टराईले संचालन गरेको कार्यक्रममा सचिव देवी घिमिरे , सहसंयोजकहरु हनुमान मित्तल , राजकुमार गुप्ता , पार्वता खरेल बिमली ,सदस्यहरु मदनगोपाल सुब्बा , घनश्याम चौधरी , चन्द्रप्रकाश गिरी ,रामप्रसाद मैनाली , सल्लाहकार समिति संयोजक हर्कलाल गिरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्