झापा , बैशाख ८ । झापाको बुद्धशान्ति गाउँपालिका-८ मा दैनिकजसो चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् ।

दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीयवासीको सुँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन् । आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बाँस्तोलाका अनुसार दुई दिनदेखि चितुवाले गाउँ पसेर आतङ्क मच्चाउन थालेको छ । उनले बुधबार राति भोजराज बास्तोलाको बाख्रा मारेको, दीपक बाँस्तोलाको बाख्रा र देवीप्रसाद अधिकारीको गाईको बाछो घाइते बनाएको बताए । चितुवाले अञ्जु प्रधानको दुई सुँगुर र पदमबहादुर एक्तेनको एउटा सुँगुर मारेको छ । ‘एकातिर हात्तीको पीर छ, अर्कोतिर चितुवाको पनि थपियो’, उनले भने, ‘ज्यान जोगाउनै गाह्रो भयो ।’ चितुवाले गाउँमा दुःख दिन थालेपछि डिभिजन वन कार्यालय र प्रहरी प्रशासनलाई गुहार्दा समेत कोही नआएको उनको दुःखेसो छ । डिभिजन वन कार्यालयका वन अधिकृत ओम भट्टराईले चितुवा नियन्त्रणमा लिन खोर बनाउँदै गरेको बताए । उनले स्थानीयले जानकारी गराएलगत्तै खोरको व्यवस्था गर्न थालेको बताए । उनले भने, ‘तत्काल खोरको व्यवस्था गरेर नियन्त्रणमा लिन्छौँ ।’ हाल मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका केही सामुदायिक वनमा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्रले स्वचालित क्यामेरा जडान गरेर हात्ती, चितुवा, बाघलगायतका जङ्गली जनावरको निरीक्षण गरिरहेको छ ।
चितुवासँगै हात्ती आतङ्क
लामो समयदेखि सो क्षेत्रमा जङ्गली हात्तीले समेत दुःख दिइरहेको छ । प्रायः बालीनाली पाकेको मौका छोपर गाउँ पस्ने हात्तीले गए राति मात्र स्थानीय कुलप्रसाद पौडेलको पाक्न लागेको मकै खाइदिएको छ । उनको पाँच कट्ठामा लगाइएको मकै खाइदिएको छ भने सावित्रा दङ्गालको मकै र बर्खे धान कुल्चिएर क्षति पुर्याएको आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्