जाँदाजाँदै केही लेख्न उत्साहित भएको छु । नेता हर्कलाल गिरीको बारेमा जसले मागेरै तत्कालीन बिर्तामोडको पूर्वाधार तयार गरेका हुन् ।जसको जगमा आजको बिर्तामोड उभिएको छ ।
पालिकाहरुको उम्मेद्वार चयन प्रक्रिया लगभग टुंगिएको छ अर्थात् नाम घोषणा साँझ बिहान कहिले हुने हो त्यो पल मात्र बाँकी भएकोले यो बेला मैले सिफारिस भएका एक नेताको बारेमा यसरी लेखिरहँदा कुनै अनर्थ लाग्दैन वा भनौँ उम्मेद्वारी घोषणा आचारसंहितामा यसले मेरो दल र मसँग कुनै अर्थ राख्दैन भन्ने मलाई लाग्छ ।

पञ्चायती ब्यवस्थाका अन्तिम प्रधानपञ्च र पहिलो गाविस अध्यक्ष भएर तत्कालीन अनारमनीको जनप्रतिनिधि भएर काम गरे गिरीले । ४० को दशकमा बिर्तामोड (अनारमनी ) शहरोन्मुख मात्र थियो । त्यही बेला भद्रपुर रोडको विकल्प हुन सक्छ भनेर बिएण्डसी हस्पिटल पूर्व दक्षिणदेखि गरामनी पश्चिम भद्रपुर रोड जोड्ने खेतै खेतको बीचबाट सडक खनेर बाटो बनाए । हाम्रो धान खेत लुटियो , सकियो भनेर त्यसताका सारा जग्गाधनी गिरीमाथि जाई लागे । जेसिबी लगाउँदा खेतमै लम्पसार परेर अगाडि बढ्न नै दिएनन् केही आमा बुबाहरुले त्यो बेला । नागरिकको निजी जग्गामा बाटो खन्नु हुन्न भनेर आफ्नै गाउँसभाले समेत साथ दिएन । मुद्दा लाग्यो , एक्लै लडे ।

आज त्यही जबर्जस्ती खोलिएको बाटोलाई हर्कलाल मार्ग भनेर सबैले चिन्ने भएका छन् । आज यहि बाटोले त्यहाँका तत्कालीन जग्गाधनी किसानको जीवनमा कायापलट गरिदिएको छ । जग्गाको मूल्य अमूल्य भएको छ । बिर्तामोड – भद्रपुर सडकको भरपर्दो विकल्प बनेको छ हर्कलाल मार्ग । पूर्व उत्तर धर्मकाँटा – किराँत चोक बाटो पनि गिरीकै अगुवाईमा खोलिएको हो त्यहि बेला ।
सैनिकमोडदेखि गोलधाप जाने बाटो घुमाउरो थियो । त्यसलाई सिधा बनाउँदै सैनिकमोड – गोलधाप सडक उनैले खने । सैनिकमोड आज दोस्रो बिर्तामोड बनेको छ ।

गिरी, माननीय गोपालकुमार बस्नेतलगायतको पहलमा बिर्तामोडमा साप्ताहिक हाटको महसुस गरि रामबाबु प्रसाईसँग कुरा गरेर ४ कठ्ठा जग्गा हालको सतासी सहकारी ( डिपार्टमेन्टल स्टोर ) भएको स्थानमा रामबाबु प्रसाईले दिएका थिए हरेक बुधबार साप्ताहिक हाट लागोस् भनेर । बुधबारको हाट बिर्तामोडमा लागे भद्रपुरमा लाग्दै गरेको बुधबारे हाट सुक्छ भन्ने लागेर तत्कालीन नगर पञ्चायतका प्रधानपञ्चबाट बिर्तामोडको बुधबारे हटियालाई रोक्न खुबै शक्ति प्रयोग भएको मात्र थिएन, गिरीलाई पञ्चायती सिडियोको आदेशमा केही दिन दुःख पनि दिएको थियो रे । यहि कुरा सिलिगुडी निर्वासनमा बस्ने जग्गादाता रामबाबु प्रसाईलाई सुनाउँदा – ए त्यसो हो भने एक बिगाह चार कठ्ठा बजारलाई दिन्छु हेरौं त अब कति दिन दुःख दिन्छ भन्दै अहिलेको बुधबारे बजार रहेको जग्गा मिलेको स्मरण गर्छन् गिरी । ( नोट ः पहिलेको हाट क्षेत्र साँघुरो भएकोले फराकिलो चाहिने भयो अलिक धेरै दिनु पर्यो भन्ने कुरा राख्दा सिलिगुडी निर्वासनमा बस्नुहुने रामबाबुले साविक हाटको पूर्व अहिलेको ठाउँ दिनु भएको भन्ने कुरामा . गोपालकुमार बस्नेतले ‘आफ्नै सेरोफेरो’ पुस्तकमा उल्लेख गर्नु भएको छ ) । त्यसपछि गाउँ पञ्चायतलाई आम्दानीको मुख्य स्रोत पनि हुने र बजार पनि ब्यवस्थित हुने भन्दै बिर्ताबजार र देवी हाटमा जस्ता पाताको लामो लामो टहरा बनाउने काम भयो । जुन आज पर्यन्त त्यही टहरामा ब्यापारीले व्यापार गरिरहेका छन् । पालिकाले कर उठाएर आम्दानी लिइरहेको छ । आज ती टहराहरु जीर्ण बनेका छन् तर, पनि कुनै अर्को पहल गरिएको छैन । तीसौं वर्ष बितिसक्यो ।

त्यस्तै रामबाबु प्रसाईले नै दिनु भएको थोरै जग्गामा देवी मावि तत्कालीन प्रावि महेन्द्र राजमार्ग उत्तर रानाको मिल पश्चिमपट्टि थियो । बाटो छेउमा स्कुल अनुपयुक्त हुन्छ बरु भाउ पनि कम्ती पर्ने अलिक माथिपट्टिको बढाएर जग्गा दिनु पर्यो भनेर रामबाबुसँग कुरा राख्दा पुन ः प्रसाईले हालको देवी मावि रहेको जग्गा दिनु भएको सम्झन्छन् हर्कलाल गिरी ।
त्यस्तै बिर्तामोडमा खानेपानीको अभाव हुन सक्छ , शहरीकरण बढ्दैछ भन्ने बुझेर टोरुप प्रसाई ( रामबाबुका छोरा ) दाईसँग कुरा गरेर खानेपानी संस्था बनाऔंँ र त्यसको अध्यक्ष तपाईं आफै बसिदिनु पर्छ भनेर कुरा राख्दै हालको खानेपानी संस्थालाई चार कठ्ठा जग्गा दिलाएको सम्झन्छन् गिरी । यसमा राजकुमार पोखरेल दाईको पनि उत्तिकै साथ रहेको स्मरण गर्छन् हर्कलाल ।
चार बिगाह क्षेत्रमा फैलिएको हालको कृषि थोक बजारको स्थापनादेखि ब्यवस्थित गर्न गिरीकै योगदान रहेको छ । त्यस्तै मेची आँखा अस्पताल , बिर्ताबजारको अनारमनी पब्लिक क्याम्पस जस्ता बिर्तामोडका सम्पूर्ण आधार निर्माण गर्न हर्कलाल गिरीले ज्यामी बनेर काम गरेका छन् ।
जनप्रतिनिधिबाट हटेपछि कामबिहीन भएको अवस्थामा केही वर्षअघि बिराट पोखरमा सुबिधासम्पन्न बृद्धाश्रम खोल्ने अभियानको नेतृत्वमा लागे गिरी । कहिल्यै खाली हात नबस्ने उनलाई ठूलो साथ दिनु भयो समाजसेवी मुमा गिरिराजकुमारी प्रसाईंले (ज्ञानु ) । मुमाले विराटपोखरमा २ बिगाहबढी जग्गा दिनु भयो र त्यसैमा भरत बिश्रान्ती नामक बृद्धाश्रम हाल संचालनमा रहेको छ ।

यी र यस्तै कामहरु गरेर बिर्तामोडलाई मागेरै बनाए हर्कलालले । आफैं खटेर शिशु अनारमनीलाई बिर्तामोड बनाएर हुर्काए । पूर्वका ठुला शहरको तुलनामा बिर्तामोड अझै पनि अब्यवस्थित छ धेरै गर्न बाँकी छ । फेरि पनि आज जे छ र जुन बिर्तामोडको हामी गर्व गर्छौं यत्तिको बिर्तामोड बनाउने हिम्मतदार ज्यामी उनै हर्कलाल गिरी हुन् । उनैले बनाएको आधारशिलामा बिर्तामोड उभिएको छ अहिलेसम्म पनि ।

मागेरै बनाए बिर्तामोड तर आफ्ना लागि कहिल्यै माग्न जानेनन् उनले । आएको र दिएको अवसर भने लिन जानेनन् उनले । ०४६ सालपछि नेका नेता गिरिजाप्रसाद कोईराला पटकपटक झापा आउँदा उनकै सानो घरमा बस्थे । गिरिजाबाबुले भन्थे रे – म हुँदै तिमीलाई केही दिन चाहन्छु के माग्छौ हर्क अहिले नै माग भन्दा गिरीले केही नमागेको कुरा सुनिन्छ उनका समकालिनबाट अहिले पनि ।

जीवनको अन्तिम मोडमा आईपुगेको छु । जीवनभरि जन्ती र मलामी हुन सकियोस् । जातजातिका कुरा नगरौं । हामी सबै नागरिक हौं भन्दै आफूले कुनै पनि मनोनित र समानुपातिक पद नखाने बरु सबैले रुचाएर विगतलाई मुल्यांकन गरेर जीवनको अन्तिम ईच्छा चुनाव लडेरै फेरि एक पटक बिर्तामोडवासीको सेवा गर्ने अन्तिम धोको रहेको कार्यकर्ता माझ सुनाउँछन् गिरी ।
वर्तमान सिफारिस भएका चारैजना उम्मेद्वार आ–आफ्नो क्षेत्रमा योग्य हुनुहुन्छ । सबैको आफ्नै पहिचान भएकोले आगामी मेयरको टिकट जसले पाए पनि बिर्तामोडले जितोस् , बिर्तामोडवासीले जितुन् शुभकामना छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्