बिर्तामोड, बैशाख ९ । नेपाली कांग्रेसबाट बिर्तामोड नगरपालिका वडा नं. ८ को वडाध्यक्षमा चिरञ्जिवी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेस बिर्तामोडको ८ नं वडा समितिबाट सर्वसम्मत वडाध्यक्षमा सिफारिस भएका कार्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । वडाबासीहरुको अत्यधिक मतले विजयी हुने आत्मविश्वास बोकेका युवा उम्मेदवार कार्कीले नेकपा एमाले र राप्रपाका उम्मेदवारभन्दा आफूलाई अब्बल प्रतिष्पर्धीको रुपमा ठानेका छन् ।

एमालेबाट विष्णु भट्टराई र राप्रपाबाट बहालवाला वडाध्यक्ष अजय कार्की वडाध्यक्षमा उठ्ने भएका छन् । ‘उहाँहरु मेरा आफन्त र सहकर्मी हुनुहुन्छ ’उनले भने ,‘चुनावी प्रतिष्पर्धामा म आफूलाई अब्बल प्रतिष्पर्धी ठान्छु ।’

लामो सयम वैदेशिक रोजगारमा बसेर फर्किएका कार्कीले वडाबासीको चाहना र नेपाली काँग्रेसको वडा समितिको सर्वसम्मत सिफारिसमा आफूले उम्मेदवारी दिने बताए । २०४६ सालमा नेपाल विद्यार्थी संघमा प्रवेश गरी काँग्रेसको राजनीतिमा सक्रिय भएका कार्की २०६५ सालमा वैदेशिक रोजगारीका लागि इजरायल पुगेका थिए । त्यहीँबाट अमेरिका गई केही समय काम गरिसकेपछि नेपाल फर्केर पुनः राजनीति र समाजसेवामा सक्रिय भएको उनको भनाई छ । २०४६ सालमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका कार्कीले २०५९ सालमा निर्वाचित भई एक कार्यकाल मेची बहुमुखी क्याम्पसको स्ववियु उपसभापति रहुन्जेलसम्म विद्यार्थी राजनीति गरेको जनाएका छन् ।

२०६० सालमा पार्टीको क्षेत्रीय सभापति रहेर पार्टी राजनीति गरेको बताउँदै वडाध्यक्षका उम्मेदवार कार्कीले पूर्व राजा ज्ञानेन्द्रले ‘शाही कु’ गरेको समयदेखि २०६२÷६३ को आन्दोलन सफल हुन्जेल महत्वपूर्ण योगदान गरेको सुनाए । उनले लामखुट्टे नियन्त्रण , धुलो धुवाँ नियन्त्रणजस्ता आफ्नो चुनावी एजेन्डा भएको बताउँदै उनले वडाध्यक्ष भए आफूले पाउने मासिक पारिश्रमिक विपन्न परिवारका बालबालिकाको अध्ययनमा खर्च गर्ने उद्घोेष गरे ।

कार्कीसँगै वडा सदस्य पदमा धर्मेन्द्र सिटौला र सरस्वती खतिवडाले पनि नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । पत्रकार भेटघाटमा नेपाली काँग्रेस बिर्तामोड ८ का वडा सभापति उत्तम कटुवालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्