नेपालको संविधान २०७२ ले नेपाललाई “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” भनेर नामकरण गरेको छ । नेपाललाई ३ तहमा शासन गर्ने व्यवस्था गरेको छ । जस अन्तर्गत संघ, प्रदेश र स्थानीय तह समेटिएको छ । गाउँ गाउँ सिंहदरबार भन्ने मूल नारासाथ आएको संघीयताले स्थानीय तहको सरकारलाई सिंहदरबारको शक्ति प्रदान गरेको छ ।

संघीयता लागू भएपश्चात् दोस्रो पटक स्थानीय तहको निर्वाचन यहि बैशाख ३० गते हुँदैछ । स्थानीय तहको निर्वाचनमा मत हाल्ने मतदाताको संख्या १,७७,३३,७२३ रहेको छ । जसमा नयाँ मतदाता संख्या ३२ लाखको हाराहारीमा रहेको छ । यो नयाँ मतदाताको संख्यामा ८० प्रतिशत विद्यार्थी रहेका छन् । नयाँ मतदाताहरु फ्रेस युवा हुन् । नेपालमा अहिले राजनीतिप्रति यति वितृष्णा छ कि अधिकांश युवाहरुलाई मत कसरी हाल्ने, कहाँ हाल्ने, किन हाल्ने भन्ने कुरा थाहा नै छैन या थाहा पाउन चाहदैनन् । जसको फलस्वरुप प्रजातन्त्रले प्रदान गरेको आप्mनो एक मतको अमूल्य शक्ति व्यर्थ भएर जान्छ ।

विद्यार्थी संगठनले त्यो मतको कदर गर्न सिकाउँछ । आफ्नो एक मतको कति महत्व छ भन्ने कुरा अवगत गराउँछ । क्याम्पस क्याम्पसमा विद्यार्थी संगठनहरु छन् । विभिन्न राजनीतिक दलसँग आवद्ध रहेर गतिविधि गरिरहेका हुन्छन् । विद्यार्थी संगठनद्वारा क्याम्पसमा गरिने हरेक गतिविधिले विद्यार्थीका चेतनाको स्तर बृद्धि गरिरहेको हुन्छ । कुनै पनि कुराको यदि सकारात्मक पक्ष छ भने अवश्य नकारात्मक पक्ष पनि हुन्छ । त्यसैगरी विद्यार्थी संगठनको गतिविधिमा राम्रो पक्षको साथसाथ नराम्रो पक्ष पनि अवश्य नै हुन्छ । तर, त्यो आफूले के लिने र कति लिने अनि के नलिनेमा भर पर्छ ।

देशमा जनता जति नै शिक्षित, धनी, सम्पन्न, अनुशासित जे भए पनि यदि राजनीति गतिलो छैन भने त्यसको कुनै अस्तित्व रहँदैन । राजनीति बलियो हुनैपर्छ अनि मात्र सबै कुरा सम्हालिएर जान्छ । नत्र लगाम बिनाको घोडा जस्तै देश दगुरिन्छ ।
यो स्थानीय चुनावमा मत खसाल्ने अधिकांश युवा विद्यार्थी छन् । मैले मत हाल्दै गरेको व्यक्ति अथवा पार्टीको एजेण्डा के छ ? घोषणापत्र कस्तो छ ? उसको समाजमा छवि कस्तो छ ? मेरो समाजलाई आवश्यक के छ र उसले त्यो आवश्यकतालाई आफ्नो घोषणापत्रमा समेटेको छ कि छैन ? यस्ता विविध कुराहरु एउटा मतदाताले जान्नै र बुझ्नै पर्ने हुन्छ । यी कुराहरुमा चासो नदेखाए फेरि पनि अयोग्य नै नेतृत्वमा पुग्ने छ । विशेष गरी यो स्थानीय चुनावमा लोभ र लालचबाट युवावर्ग बच्नु पर्ने हुन्छ । क्षणिक लालचले गर्दा पुरा जिन्दगी अन्धकारमा जान्छ । त्यसैले युवा वर्गमा यो स्थानीय चुनावप्रति चासो र जिज्ञासा अलिक बढी नै हुनुपर्छ ।

यस्ता कुराहरुको आधारभूत ज्ञान र जानकारी क्याम्पसमा विद्यार्थी संगठनका गतिविधिले सिकाइरहेका हुन्छन् । नेतृत्व गर्ने र नेतृत्व बुझ्ने कुरा सिकाइरहेको हुन्छ । कुनै एउटा राजनीतिक पार्टीको विद्यार्थी संगठनले यो पार्टीलाई मत हाल्नु होला अवश्य नै भन्छ । तर, उसले जे मा भन्यो त्यसैमा मत हाल्नु पर्छ भन्ने के छ र । अर्को संगठनले पनि यो दलमा मत हाल्नु होला भन्छ । तर, उसको नि कुरा मान्नै पर्छ भन्ने के छ र । जे होस् उनीहरुले गरेको उक्त गतिविधिबाट आम विद्यार्थी वर्गलाई यो त थाहा हुन्छ कि ए चुनाव आउँदै रहेछ । यो मान्छे यो पार्टीको रहेछ, यो मान्छे यो पार्टीको रहेछ । यसले यसो भन्यो, उसले उसो भन्यो यो सब थाहा त हुन्छ । त्यसपश्चात् विश्लेषण गर्ने र मत हाल्ने त आफ्नो स्वविवेकको विषय हो । ज्ञान र जानकारी लिएर आफू अद्यावधिक भएर बस्नु गलत होइन ।

मेरो वडा, मेरो पालिकामा मैले हाल्ने एक मतको कदर गर्न विद्यार्थी संगठनले राम्ररी सिकाउँछ । वास्तवमा भन्ने हो भने विद्यार्थीमा राजनीतिक चेत भर्ने काम विद्यार्थी संगठनले गरेको छ ।
अझ विशेष गरी स्थानीय निर्वाचनमा उच्च सतर्कताका साथ मत हाल्नु पर्ने हुन्छ । किनकी आफ्नो घर अगाडीको बाटो कस्तो बनाउने हो, नाला कस्तो बनाउने हो, गाउँमा चोकमा अस्पताल चाहिने हो की विद्यालय चाहिने हो । यस्ता विविध कुराहरुको निर्धारण यसै स्थानीय निर्वाचनले गर्ने गर्दछ । तसर्थ सुझबुझका साथ मत हाल्नु अत्यन्तै आवश्यक छ ।

अहिलेको अवस्थामा राजनीतिक दल, त्यससँग आवद्ध विद्यार्थी संगठन, अन्य संघसंगठन सबैप्रति आम नागरिकले हेर्ने दृष्टिकोण अधिकांश नकारात्मक पाइएको छ । यो हुनु स्वाभाविक पनि हो । किनकी नेपालमा राजनीति यति फोहोरी खेल भइसक्यो कि कोही पनि त्यो फोहोरतर्फ जान चाहदैन । तर, फोहोर सफा गर्ने पनि त मान्छे त चाहिन्छ । तसर्थ त्यो सपुत उत्पादन गर्ने काम गर्न सफल बनोस् हरेक विद्यार्थी संगठन । राजनीतिक दलको झोला बोक्ने मात्रै होइन, राजनीतिलाई नै परिवर्तन गर्न सक्ने नेतृत्व दिन सफल बनोस् हेरक विद्यार्थी संगठन । अनि मात्र सबै विद्यार्थीले हो क्याम्पसमा विद्यार्थी संगठन चाहिन्छ भन्ने आवाज निकाल्ने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्