झापा , बैशाख ११ । यही बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि पहिलो दिन झापामा ७९५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाका १५ वटा पालिकाको निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी त्यति उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । प्रमुख वा अध्यक्षमा ४० जना , उपप्रमुख वा उपाध्यक्षमा ३१ जना , वडाध्यक्ष १९६ जना , महिला सदस्यमा १४३ जना , दलित महिला सदस्यमा १४३ जना र खुल्ला सदस्यमा २८२ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यता बिर्तामोड नगरपालिकाको मेयरमा पाँचजनाको उम्मेदवारी परेको छ । चार वटा राजनीतिक दलको तर्फबाट र एकजना व्यक्तिले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै उपमेयरमा ३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालय बिर्तामोडका अनुसार एमालेबाट मेयरमा पवित्रादेवी महतारा, उपमेयरमा नगेन्द्र संग्रौलासहित ४९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । राप्रपाबाट मेयरमा धु्रवकुमार उप्रेती र उपमेयरमा रञ्जु प्याकुरेलसहितले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, मौलिक जरोकिलो पार्टीका तर्फबाट मेयरमा प्रज्वल अधिकारी शर्मा र उपमेयरमा रितादेवी निरौलाले उम्मेद्वारी दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट मेयरमा राजकुमार लावती र रितादेवी शेर्माले उपमेयरमा उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै नगेन्द्र अधिकारीले मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । पहिलो दिन ११५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले जानकारी दिए । उम्मेद्वारी दर्ता सोमबारसम्म चल्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्