झापा, बैशाख १२ । कनकाई नगरपालिकाको मेयरको उम्मेदवार छनोटमा घात गरेको भन्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।


कनकाई नगरपालिकाको मेयरका आकांक्षी थापाले अन्तिम अवस्थामा आएर जिल्ला र प्रदेश नेतृत्वले टिकट नदिएपछि राजीनामा दिएका हुन् । टिकट दिने विषयमा जिल्ला सभापति देउमान थेबे र प्रदेश १ सभापति उद्धव थापा सकारात्मक नभएको उनले गुनासो गरेका छन् । कनकाई नगरपालिकाको मेयरको टिकट रुद्र चिमरियाले पाएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै साधारण सदस्यसमेत नरहने गरी नेपाली काँग्रेस परित्याग गरेको घोषणा गरेका हुन् ।लामो समयदेखि राजनीतिसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएका थापाले टिकट नपाउँदा उनका समर्थक तथा शुभचिन्तकहरु समेत दुखी भएका छन् ।
खासगरी कोरोना कहरका बेला हरेक नगरबासीका घरमा स्वास्थ्य सामग्रीसहित पोषिलो खानेकुरा लिएर पुगेका थापा गरिब र विपन्न समुदायका नागरिकको दुःखको सारथी बन्दै आएका छन् । आज नै थापाले थापाले स्वतन्त्र उम्मेरद्वारी दर्ता गर्ने कुरा बुझिएको छ ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन् ‘झापा क्षेत्र नं २ को महाधिवेशन प्रतिनिधि म शेरबहादुर थापा नेपाली कांग्रेस नेविसंघमा २०३७ सालबाट प्रवेश गरी २०५३–१०–१५ गते सक्रिय सदस्य प्राप्त गरी हालसम्म निरन्तर पार्टीमा सक्रिय रहिराखेको र पार्टीको काममा निरन्तर सेवा गरेर बफादार रही पार्टीको जिम्मेवारी पूरा गरी सामाजिक काममा समेत अग्रसर भएको अवस्थामा पार्टीको सम्पूर्ण सक्रिय सदस्यहरुको भावनालाई कदर गर्ने गरेको छु । उहाँहरुको भावनाअनुरुप पार्टीले काम गर्न नसकेको र विधि विधान भन्दा लोभीपापीहरूको संगठनमा हावी भएकाले पार्टीलाई उच्च सम्मान गर्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु । नोटः पार्टी गलत नभएको र पार्टीलाई सधैं म सम्मान नै गर्नेछु ।जय नेपाल !’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्