दमक, बैशाख १२ । यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सोमबार दमक नगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।

दमक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका तर्फबाट घोषित ५२ जना उम्मेद्वारहरुले एकसाथ मनोनयन दर्ता गराएका हुन् ।

गठबन्धनबाट नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा, र उपप्रमुखमा नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाईंले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी गठबन्धनबाट वडा नम्बर १ मा तारा अधिकारी, २ मा रुद्र कार्की, ३ मा डिल्ली चापागाईं, ४ मा पुण्य दाहाल, ५ मा धनबहादुर भट्टराई, ६ मा यामजी श्रेष्ठ, ७ मा भीम पौडेल, ८ मा प्रकाश चापागाईं, ९ मा नगेन्द्र घोर्साईं र १० मा राजेन्द्र भण्डारीले उम्मेद्वारी दर्ता गराएका छन् । वडा नम्बर १ का अधिकारी र ७ का पौडेल यसअघि पनि वडा अध्यक्ष रहिसकेका छन् । उनीहरु दुवैजना राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्पmबाट वडाध्यक्षको उम्मेद्वार बनेका हुन् ।

त्यस्तै वडा नम्बर २, ६, ८ र ९ मा माओवादी केन्द्र साथै वडा नम्बर ३, ४, ५ र १० मा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वारी दर्ता भएको हो ।
गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराउँदै नगर प्रमुखका उम्मेद्वार थापाले नगरको नेतृत्वमा रहेर नगरबासीको सेवा गर्ने आफ्नो चाहना पुरा हुने अवस्थामा पुगेको बताए । आफूहरुको गठबन्धनमा सबै दल, विचार, समुदायको प्रतिनिधित्व रहेकोले समग्र दमकको विकासको लागि यो टिम नै विजयी हुने दावी गरे । त्यसैगरी उपप्रमुखकी उम्मेद्वार रेगिना भट्टराई प्रसाईंले नगरका प्रमुख दलहरुको गठबन्धन भएकाले आफूहरुको विजय सुनिश्चित भएको बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्