बिर्तामोड , बैशाख १४ । नेपाली कांग्रेसका तर्फबाट बिर्तामोड नगरपालिकाको मेयरका उम्मेदवार भोजराज सिटौलाले गर्भित घोषणा गरेका छन् ।

उनले नगर र नगरबासीको हितमा खुलेर सहयोगको घोषणा गरेका हुन् । बिर्तामोड नगरपालिकामा दुईदलीय गठबन्धनको संयुक्त कार्यालयको उद्घाटनका क्रममा उम्मेदवार सिटौलाले आफूले मेयर जिते नगरपालिकाको गाडी नचढ्ने घोषणा गरे । वर्षमा ९ लाख रुपैयाँ खर्च हुने मेयरको गाडी आफूले प्रयोग नगर्ने त्यसलाई नगरबासीका लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरे । त्यस्तै उनले आफूले पाउने सेवासुविधाको ५० प्रतिशत रकम खेलकुद क्षेत्रका लागि खर्च गर्ने समेत घोषणा गरे । चर्चित डोमालाल राजवंशी रंगशाला रहेको बिर्तामोडका सयौ खेलाडीका लागि एकजना प्रशिक्षक समेत नगरपालिकाले नियुक्त गर्न नसक्नु दुर्भाग्य भएको भन्दै उनले आफू पनि खेलाडी भएकाले खेल र खेलाडीको मर्म बुझेर काम गर्ने दावी गरे । उनले नगरको खेलकुद विकास समितिमा राजनीतिक नियुक्ति गर्न नहुने भन्दै आफूले चुनाव जिते विज्ञहरुबाटै खेलकुद समिति निर्माण गर्ने समेत प्रतिबद्धता जनाए ।

नगरका सबै अव्यवस्थित सुकुम्बासीहरुलाई जग्गाधनी बनाउने उद्घोष गरेका सिटौलाले विपन्न परिवार आफ्नो प्रमुख प्राथमिकतामा रहने धारणा राखे । नगर विकासका प्रतिवद्धतासंगै उनले आफूले पहिलो र अन्तिम पटक मेयरको निर्वाचन लडेको बताए । ‘यो मेरो मेयरको अन्तिम उम्मेदवारी हो’उनले भने ,‘हारेपनि जितेपनि फेरि मेयरमा उठ्दिनँ ।’ अब संसदीय निर्वाचनमा समेत नउठ्ने उनले घोषणा गरे । बोलेको कुरा पूरा गर्ने नैतिकता आफूमा रहेको बताउँदै उनले भ्रष्टाचार गरेको कसैले प्रमाण दिए पद त्याग्ने घोषणा समेत गरे ।

कार्यक्रममा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार सीपी कडरियाले बदर मत कम गर्न आफूहरुले नै मतदाता शिक्षा कार्यक्रम संचालन गर्न लागेको जानकारी दिए । गत स्थानीय निर्वाचनमा बिर्तामोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्र करिव दुई हजार मत बदर भएको थियो । संविधानसधा सदस्य तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले गठबन्धनको संयुक्त कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल , महाधिवेशन प्रतिनिधि सीता पौडेललगायतले बोलेका थिए ।

कार्यक्रममा ४ हजार १ सदस्यीय निर्वाचन मूल परिचालन समिति गठन गरिएको जानकारी दिइयो । कांग्रेसका क्षेत्र नं २ प्रदेश क का सभापति लक्ष्मी आचार्य संयोजक रहेको सो समितिको सहसंयोजकमा माओवादीका नगर इन्चार्ज युवराज दाहाल रहेका छन् ।

त्यस्तै आचार्यकै संयोजकत्वमा स्टेरिङ कमिटी बनाइएको छ भने सुधिरकुमार शिवाकोटीको संयोजकत्वमा सल्लाहकार समिति , जगन्नाथ भट्टराईको संयोजकत्वमा कार्यालय व्यवस्थापन समिति , सजेश शिवाकोटीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, इन्द्रसिंह राजवंशीको संयोजकत्वमा प्रचारप्रसार तथा मिडिया परिचालन उपसमिति , रमेश चौधरीको संयोजकत्वमा युवा परिचालन उपसमिति निर्माण गरिएको छ । निर्वाचन मूल परिचालन समितिका संयोजक आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवराज दाहालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्