बिर्तामोड , बैशाख १५ । नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिकामा उठेका उम्मेदवारहरुले पुरानै प्रतिवद्धता दोहो¥याएका छन् ।

गत निर्वाचनमा दुईतिहाई बहुमत पाएको एमालेले त्यस कार्यकालमा पूरा गर्न नसकेका कामलाई नै उल्लेख गरी चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । २० पृष्ठको लामो सो प्रतिवद्धतापत्रमा गत निर्वाचनताका बोलेर पूरा गर्न नसकेका कुराहरुलाई नै समेटिएको छ ।

गत निर्वाचनमा एमालेका उम्मेदवारहरुले बिर्तामोडलाई स्मार्ट सिटी बनाउने , मुक्ति चौकमा आकाशे पुल निर्माण गर्ने , बिर्तामोडको विभिन्न स्थानमा सार्वजनिक शौचालय र स्नानगृह बनाउने , अदुवा खोलाको दुवै किनारमा हरियाली मार्ग निर्माण गर्नेजस्ता ७५ बुँदे प्रतिवद्धता जनाएका थिए ।तर, ती प्रतिवद्धता खासै पूरा भएनन् । फेरि पनि त्यही कुरालाई एमालेले यस निर्वाचनको प्रतिवद्धतापत्रमा समेटेको छ । विकासको मूल आधार यातायात र पूर्वाधार भन्ने शीर्षकमा नगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्दै लाने दीर्घकालीन सोच अनुसार सडक, विद्युत, खानेपानी, ढल तथा नाला, सडक बत्ती, कर्मसियल भवन, पार्किङ, उद्यान तथा पार्क, बजार केन्द्र, सार्वजनिक शौचालय, फोहोर मैला ब्यवस्थापन, हरियाली तथा नगरको सौन्दर्यकरण जस्ता पूर्वाधारहरुको निर्माण गर्न गुरुयोजना तर्जुमा गरेर स्थानीय स्रोत साधनलाई प्राथमिकता दिई कार्य गरिने उललेख छ ।

कार्यक्रमहरु
बिर्तामोड नगरपालिकाका सवै वडाहरु छुने रिङरोड ५ वर्षभित्रमा निर्माण सम्पन्न गरी गुणस्तरीय यातायात सेवा सञ्चालन गर्न व्यवसायीहरुसँग समन्वय गरिनेछ । सबै पूर्वाधार निर्माणमा न्यूनतम निर्माणसंहिता तथा मापदण्ड पालना गरिने÷गराइनेछ । नगरभित्रका सडकहरुलाई बर्गीकरण गरी ५ वर्षभित्रमा कम्तिमा १२५ कि.मी. सडक कालोपत्रे तथा पेभिङ्ग र बाँकीलाई उच्चस्तरीय ग्राभल गरिनेछ । जसअन्तर्गत बिर्तामोड बजार तथा ग्रामीण भेगका अधिकाँस टोलहरु जोड्ने छोटो बाटोमा पेवर्स तथा व्लक बिच्छ्याउने काम गरी स्मार्ट सडक निर्माण गरिनेछ । नगरभित्रका सबै मुख्य सडकहरुमा नाला, ढल, पुल र कल्भर्ट बनाउने, ह्युमपाइप राख्ने, ढलहरु व्यवस्थापन गर्ने कार्य गरी १२ महिनै यातायात संचालनमा ल्याइनेछ । शहरी क्षेत्रमा फुटपाथ बनाइनेछ । बाँकी रहेका वडा कार्यालयहरुको निर्माण सम्पन्न गरिनेछ । नगरको मुख्यमुख्य सडकहरुमा सडकवत्तीको व्यवस्था गर्नुका साथै शान्ति सुरक्षालाई मध्यनगर राख्दै १ वर्षभित्रमा सीसी क्यामेरा जडान गरिनेछ । त्यस्तै अव्यस्थित तार, केवलको व्यवस्थापन गरिनेछ । सबै वडा कार्यालयहरु ५ वर्षभित्रमा बाँकी रेहेका स्थानहरुमा पक्की सडकले जोडिनेछ । सबै वडा तथा नगरपालिका कार्यालयमा बालबालिका, अशक्त र जेष्ठ नागरिकका लागि सेवासहितको प्रतिक्षालय १ वर्षभित्रमा निर्माण गरिनेछ ।

प्रतिवद्धतापत्रमा नगर गौरव योजनाको रुपमा नगर रिङरोड निर्माण, नगर विपन्न आवास निर्माण, शहिद नेत्रलगायत अन्य शहिदहरुको पार्क निर्माण, नगर बहुसांस्कृतिक केन्द्र निर्माण, डोमालाल राजवंशी रंगशाला स्तरोन्नति, मदनभण्डारी खेलकुदग्राम निर्माण, अदुवा खोला करिडोर निर्माण, विषादी तथा प्रदुषणरहित सुविधासम्पन्न कृषि बजार निर्माण,विषादीमुक्त तथा पूर्ण सरसफाइसहितको हरित नगर निर्माण, औद्योगिक कोरिडोर निर्माण गर्ने ,हात्ती प्रभावित क्षेत्रहरुमा पूर्ण फेन्सिङ गर्ने, विराटपोखरी धार्मिक पर्यटकीय क्षेत्र निर्माण ,प्राविधिक क्याम्पस स्थापना , गरामनी बजार, सैनिक बजार तथा चैतुबारी बजारको आधुनिकीरणजस्ता योजनालाई पूरा गर्ने एमालेले प्रतिवद्धता जनाएको छ ।

नगरपालिका निर्वाचन समितिका संयोजक हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेल , निर्वाचन आयोग सदस्य पवित्रा निरौला खरेल , पूर्व पोलिटव्यूरो सदस्य नरेश खरेल ,प्रदेश कमिटी सदस्य एकराज कार्की , लेखा आयोग सदस्य जसमाया गजमेर, मेयरका उम्मेदवार पवित्रा महतारा प्रसाई , उपमेयरका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलालगायतले सामूहिक रुपमा सो प्रतिवद्धतापत्र सार्वजनिक गरेका थिए । नगर कमिटी अध्यक्ष सुवास भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रतिवद्धतापत्रको बिशेषताका बारेमा रोमणि भट्टराईले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन गोपाल काफ्लेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्