झापा , बैशाख १६ । विवेकशील साझा पार्टीको तर्फबाट कन्काई नगरपालिकामा मेयरका प्रत्यासी भिमप्रसाद अधिकारी जनस्तरबाट रुचाईएका व्यक्ति हुन् ।

उनलाई ईमान ,त्याग र निष्ठाका प्रतिमुर्ति , निष्कलंक सामाजिक व्यक्तित्वको रुपमा लिइन्छ । कन्काई नगरमा आजका दिनसम्म आफ्नो इमान र निष्ठामा कहिल्यै कुनै संझौता नगर्ने छुट्टै पहिचान बनाएका अधिकारीले दुई कार्यकाल गाविस अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् ।
हाल उनी कन्काई खानेपानीको अध्यक्ष छन् ।खानेपानीको दुई वर्षे कार्यकाल पुग्नै लाग्दा यसको संचालन ,व्यवस्थापन र सेवामा भएको गुणात्मक परिवर्तनको अनुभूति कन्काई नगरवासीले गरेका छन् ।
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनसेवामा तन,मन र धनले समर्पित हुँदै आएका अधिकारीको उम्मेदवारी मनोनयनले ठुला दलहरुलाई कडा चुनौती थपिएको छ ।
स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका बौद्धिक व्यक्तित्व अधिकारी केही वर्ष शिक्षण पेशामा पनि संलग्न थिए । कम्युनिस्ट स्कुलिङबाट प्रभावित भएर उनी लामो समय कम्युनिस्ट राजनीतिमा आवद्व रहे । नेकपा एमालेको गैर राजनीतिक चरित्र,सामाजिक आर्थिक विचलन र नेतृत्वमा देखिएको आत्मकेन्द्रीत सोचबाट वाक्क दिक्क भएर पार्टी परित्याग गर्दै स्वतन्त्र नागरिकको भूमिकामा आफू रहेको उनले बताए ।
पछिल्लो समय विवेकशील साझा पार्टीमा आवद्ध अधिकारी आफू जनताको नजरमा असल र इमानदार जनप्रतिनिधि भएकै कारण मेयरमा निर्वाचित हुने कुरामा बिश्वस्त भएको बताउँछन् । उनले बैशाख १७ गते शनिवार सुरुङ्गास्थित चौकमा एक सार्वजनिक कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए ।



