भद्रपुर, बैशाख १७ । नेपाली काँग्रेसका युवा नेता अर्जुनकुमार थापाले भद्रपुर १० को वडाध्यक्षका लागि स्वतन्त्र रूपमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

काँग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका थापाले नेपाली काँग्रेसको गठबन्धनका सबै पदमा विजय हासिल गर्न पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत जनाएका छन् ।
२०४६ सालदेखि नेपाल विद्यार्थी संघ हुँदै काँग्रेस राजनीतिमा सकृय रहेका थापाले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पार्टीको हित ठूलो भएको ठहर सहित उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनले भद्रपुर १० का लागि नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार विष्णुप्रसाद काफ्लेको नेतृत्वमा रहेको टिमलाई सहयोग गर्ने बताएका छन् ।

त्यसैगरी मेचीनगर नगरपालिकामा नेपाली काँग्रेसका प्रमुखका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीलाई विजयी गराउन नेता केशवराज पाण्डेले अगुवाई गर्ने भएका छन् ।

उम्मेद्वारी दर्ताका क्रममा भएको असमझदारीलाई हटाउँदै जिल्ला उपसभापति पाण्डे र नगरप्रमुखका उम्मेद्वार बुढाथोकीबीच शुक्रबार छलफल भएको छ । काँग्रेस प्रदेश १ का सभापति उद्धब थापाको समन्वय र महाधिवेशन प्रतिनिधि लोकराज ढकालको सहजीकरणमा भएको छलफलपछि पार्टीको आधिकारिक उम्मेद्वारका रुपमा रहेका बुढाथोकीलाई विजयी गराउन नेता पाण्डेको अगुवाईमा निर्वाचन अभियान सञ्चालन हुने छलफलमा सहभागी एक नेताले बताए ।
प्रदेश समितिले पाण्डेलाई र केन्द्रीय समितिले बुढाथोकीलाई नगरप्रमुखको टिकट दिएको बिषयलाई लिएर उम्मेद्वारी दर्ताका समयमा दुई नेताबीच सामान्य विवाद भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्