झापा , बैशाख १७ । बिर्तामोड नगरपालिकामा एकसाथ निर्वाचन लड्न लागेका गठबन्धन दलले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

बिर्तामोडको भौतिक पूर्वाधार , सामाजिक विकास र सुशासनका विषयमा ती दलले प्रतिवद्धता जनाएका छन् । गठबन्धनले विभिन्न शीर्षकमा प्रतिवद्धता सार्वजनिक गरेको छ । गठबन्धनले विकास र पारदर्शिताको अभियान ः परिवर्तनका पक्षमा गठबन्धनका चिन्हमा मतदान भन्ने मुख्य नारासहित प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
संयुक्त गठबन्धन निर्वाचन परिचालन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, विर्तामोडका लागि मेयरका उम्मेद्वार एवं नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, उपमेयरका उम्मेद्वार एवं नेकपा माओवादी नेता सि.पि. कडरिया, १ नम्बर वडाका वडाध्यक्ष पदका उम्मेद्वार बलराम कार्कीलगायतले संयुक्त रुपमा उक्त प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । यस्तो छ गठबन्धन दलको प्रतिवद्धतापत्र –संयुक्त गठबन्धनका तर्फबाट जारी गरिएको बिर्तामोड नगरपालिकाको प्रतिबद्धता पत्र
बिर्तामोड नगरपालिकालाई विकसित, शान्त र व्यवस्थित नगरका रुपमा विकास गर्न यस संयक्त गठबन्धनले आम मतदाता समक्ष प्रतिबद्धता जाहेर गरेका सक्षिप्त बुँदाहरु निम्न अनुसार प्रस्तुत गरेका छौं ।

बिर्तामोड नगरपालिकाको नगर गौरव योजना ः व्यवस्थित शहर निर्माण गर्ने हाम्रो चाहना
१. विर्तामोड नगरपालिकाको बृहत्तर विकासका लागि दीर्घकालिन गुरुयोजना तयार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
२. कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र सहकारीकरणको प्रतिबद्धता व्यक्त गर्दछौं ।..
३. फोहर मैलाको व्यवस्थापनका लागि स्थायी, व्यवस्थित र दिगो ल्याण्डफिल्ड साइडको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं
४.डोमालाल रंगशालालाई व्यवस्थित खेलकुद रंगशाला र व्यायामशालाको निर्माण प्रतिबद्धता व्यक्त गर्दछौं।
५. कृषि थोक बजारको उचित व्यवस्थापन गरी आधुनिक कृषि बजारको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
६. विर्तामोडलाई व्यापारिक, व्यावसायिक, शैक्षिक र स्वास्थ्य उपचारको हब(केन्द्र)का रुपमा विकास गर्नेछौं।
७.विर्तामोड नगरमा प्रवेश गर्ने साना तथा ठूला खोलाको पानीलाई एकीकृत निकास बनाई खोलाको संयुक्त करिडोर निर्माण गरी वर्षाको पानीलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
नगर गौरव योजनाको दीर्घकालिन दिगो पूर्वाधार निमार्णका साथै आगामी पाँच वर्षमा हामीले सार्वजनिक गरेका तल उल्लेखित विषयहरुलाई कार्यान्वयन गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछौं ।

किसान नै हाम्रो पहिलो साथी ः त्यसैले कृषि क्षेत्र सबैभन्दा माथि
– कृषकहरुको सेवा, सुविधा र अनुदान सहयोगको वितरणमा पारदर्शिता ल्याउनका लागि कृषक पहिचान मापदण्ड तयार गरी कृषक परिचय पत्र वितरण गरिने छ । – कृषकहरुका लागि अति आवश्यक रहेको कृषि मल, बीउ तथा औषधीहरुको आपूर्तिलाई व्यवस्थित बनाइने छ ।
–कृषि सिंचाई कार्यका लागि विद्युतको टु फेज लाइनमा स्तर उन्नति गर्दै फोरफेज लाइन र ट्रान्सफर्मरको उचित प्रबन्ध गरिने छ ।
– यस नगरका धेरै व्यक्ति र समूह व्यावसायिक कृषि तथा कृषि उद्योग संचालनमा संलग्न रहेका कारण उनीहरुको व्यावसायिक क्षमता विकास गर्दै स्थानीय स्तरको रोजगारी प्रदान गर्ने स्तरको क्षमता विकास गरिने छ ।
– कषि सिंचाइका लागि अधुवा खोलाबाट सिंचाई प्रवन्ध गर्दै घाग्रा खोलाबाट निकालिएका पैनीहरुको संरक्षण र स्तर उन्नति गर्दै डिप बोरिङ्गलाई समेत प्रयोगमा ल्याई सिंचाइको व्यवस्थित प्रवन्ध गरिने छ ।
–कषि सिंचाइलाई विकास गर्दै कृषि सिंचाइका लागि प्रयोग गरिएको विद्युत शुल्कमा सहुलियत प्रदान गरिने छ ।
–हरेक वडामा कृषि उपजको भण्डारण केन्द्र निर्माण गरी कृषकको उत्पादनमा मूल्य वृद्धि गर्ने कार्यक्रम सञ्चालनमा ल्याइने छ ।
–नगर कृषि सहकारीमार्फत शित गृह निर्माण गरी संचालनमा ल्याइने छ ।
– मेची अञ्चलकै मुख्य कषि बजारका रुपमा रहेको कृषि थोक बजारलाई व्यवस्थित बनाउन दीर्घकालिन गुरुयोजना तयार गर्दै सम्बन्धित निकायहरुसँग समन्वय गरी आधुनिक र व्यवस्थित कृषि बजारका रुपमा विकास गरिने छ ।
–कृषकहरुको नगर सहकारीको स्थापना गरी यस नगरभित्र रहेका सबै कृषक समूह र कृषि सहकारीलाई एउटै छातामा राखी सेवा प्रदान गरिने छ ।
– नश्ल सुधारका लागि उन्नत जातका बीउबोका वितरण, निःशुल्क पशुपंक्षी वितरण, निःशुल्क कृत्रिम गर्भधारण र पशु विमामा सहुलियत दिइने छ ।
–कृषिको व्यवसायीकरण गर्न नगरक्षेत्रका बिरुवा उत्पादन गर्ने नर्सरीमा संलग्न किसानहरुलाई राहत र अनुदान प्रदान गर्दै निम्न आयश्रोत भएका किसानहरुको आयआर्जनमा सहयोग गरिने छ ।
–नगर क्षेत्रभित्र रहेका बाँझो जमिनहरुको पहिचान गरी त्यस्ता जमिनमा खेती गर्ने विपन्न समूह र खेती गर्न दिने जग्गाधनीलाई प्रोत्साहन र पुरस्कार प्रदान गरिने छ। – घना शहरी क्षेत्रमा व्यवस्थित कौशी खेतीको प्रोत्साहन गरिने छ ।
–युवाहरुलाई कृषि प्रविधि तालिम दिई उनीहरुलाई स्वरोजगार बनाउने जनशक्तिका रुपमा तयार गरिने छ ।
– साना किसानलाई अनुदानको पहुँचमा ल्याई उनीहरुको आयआर्जनमा सहयोग गरिने छ।

उद्योग÷बजार÷व्यापार÷व्यवसाय ः नगरपालिकाको महत्वपूर्ण आय
–सार्वजनिक सुरक्षाका लागि नगरभित्रका सबै बजारहरुमा प्रहरी बिट स्थापना गरिने छ ।
–सबै साना तथा ठुला बजारहरुमा सार्वजनिक शौचालय, सडकबत्ती, स्वास्थ्य खानेपानी र सिसि क्यामाराको व्यवस्था गरिने छ । .
– व्यवसायीहरुको हितलाई ध्यानमा राखी व्यवसायको आकस्मिक क्षतिमा राहत कोष खडा गरी सहयोग गरिने छ ।
– उद्योग स्थापनालाई प्रोत्साहन गर्न उद्योग दर्ताको प्रारम्भिक शुल्कमा सहुलियत दिने व्यवस्था गरिने छ ।
–नगरमा रहेका उद्योगहरुमा चाहिने आवश्यक जनशक्तिको पहिचान गरी युवाहरुलाई सोही अनुसारको तालिम दिई रोजगारी प्रदान गर्ने नीति तयार गरिने छ ।
– नगरमा रहेका उद्योगहरुमा काम गर्ने कामदारहरुलाई वडा कार्यालयमा सुचिकृत गरी अस्थायी परिचय पत्र दिने व्यवस्था गरिने छ ।
– महिला व्यवसायीलाई प्रोत्साहन गर्न विशेष सुविधा प्याकेज तयार गरीने छ ।
– नगरक्षेत्रमा रात्रीकालिन बजार व्यवस्थापन गरिने छ । नगरको मातहतमा रहेका बजारहरुका अव्यवस्थित टहराहरुलाई व्यवस्थित गरी वास्तविक कृषक र व्यापारीहरुमा मापदण्ड बनाई वितरण गर्ने व्यवस्था गरिने छ ।
–विर्तामोड नगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न आवश्यक पर्ने मापदण्डहरु पुरा गर्न सोही अनुरुपका पूर्वाधार विकास तयार गर्दै लगिने छ ।
– नगरपालिकाका निश्चित बजार क्षेत्रहरुमा फ्रि वाईफाई सेवा उपलब्ध गराइने छ ।

सबैलाई शिक्षा ः हाम्रो पहिलो सदिक्षा
–सबै सामदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गरिने छ र हरेक वर्ष एउटा सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गरिने छ।
–सबै सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री विद्यालयका रुपमा विकास गर्दै सामुदायिक विद्यालयको क्रमशः प्राविधिक विद्यालयका रुपमा स्तर उन्नति गरिने छ।
–हरेक सामुदायिक विद्यालयहरुमा आकस्मिक उपचार कोष तयार गरी विद्यार्थीहरुको आकस्मिक उपचारमा सहयोग गरिने छ ।
– नगरभित्रका विद्यालयमा रहेका कक्षा दशभन्दा माथि विपन्न वर्गका विद्यार्थीहरुले ल्याएको उत्कृष्ट अंक ल्याउनेलाई पुरस्कृत गरिने छ ।
–साँगवेद संस्कृत माध्यमिक विद्यालयलाई स्तर उन्नति गर्दै धार्मिक साँस्कृतिक पर्यटनको रुपमा प्रदेशकै नमुना संस्कृत विद्यालयको रुपमा विकास गरिने छ ।
–निजी विद्यालयमा निर्धारण गरिएको १० प्रतिशत छात्रवृत्तिलाई पारदर्शी बनाई लागु गरिने छ ।
– विपन्न वर्गका कक्षा ८ देखि १२ कक्षासम्मका टाढाबाट पैदल आउने विद्यार्थीहरुका लागि निःशुल्क साइकल वितरण गरिने छ ।
–कक्षा ८ सम्म पढाइ हुने सामुदायिक विद्यालयहरुको स्तर उन्नति गर्दै क्रमशः १२ कक्षासम्म अध्ययन गर्ने विद्यालयका रुपमा विकास गरिने छ ।
–मदरसाहरुको संरक्षण र सम्बद्र्धनमा जोड दिइने छ ।
– सामुदायिक र निजी विद्यालयहरुका शिक्षकहरुको क्षमता अभिवद्धि गर्न विभिन्न तालिमहरु सञ्चालनमा ल्याइने छ ।
–विपन्न वर्गका विद्यार्थीहरुले स्नातकोत्तर शिक्षा अध्ययन गर्न, एमबीबीएस, इन्जिनियरिङ्ग र कृषि तथा पशु प्राविधिक शिक्षमा स्नातक गर्न आवश्यक सहयोग गरिने छ ।
–सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले पीएचडी गर्न चाहेमा नगरपालिकामार्फत सहयोग गरिने छ ।

–सामुदायिक विद्यालयहरुलाई क्रमशः निशुल्क कक्षा संचालन गर्ने नीति तयार गरिने छ।
– युवा तथा विद्यार्थीहरुलाई लागूऔषधको कुलतबाट जोगाउन मनोपरामर्श शिक्षा लागु गरिने छ ।
– सामुदायिक क्याम्पसहरुको भौतिक तथा शैक्षिक विकासमा सहयोग गरिने छ।

स्वास्थ्य÷सरसफाइ र खानेपानी ः नागरिकको मौलिक हकप्रति सदैव सावधानी
– नगरस्तरीय अस्पताललाई व्यवस्थित बनाउँदै हरेक वडामा एक स्वास्थ्य चौकी स्थापना गरिने छ ।
फोहरमैला व्यवस्थापनको दीर्घकालिन समाधान गरिने छ । विर्तामोडका मुख्य क्षेत्रहरु बसपार्क, मुक्ति चोक, कृषि थोक बजार, विर्ताबजार, चारपाने चोक लगायतका मख्य चोक तथा बजार क्षेत्रमा व्यवस्थित सार्वजनिक शौचालय संचालनमा ल्याइने छ।
–स्वास्थ्य विमाको सेवा प्रक्रिया झन्झटिलो भएको हुनाले त्यसलाई सरलिकृत बनाउन प्रवन्ध गरिने छ ।
–जेष्ठ नागरिकलाई घरमा नै निःशल्क आँखा उपचार गरिने छ।
– नगरका प्रत्येक घरमा स्वच्छ खानेपानी आपूर्ति गर्न खानेपानीको थप ओभरहेड ट्यांकीको व्यवस्था गरी सहज रुपमा खानेपानीको व्यवस्था गरिनेछ ।
– सडकको हल साना खोलाहरुमा मिसाउँदा हुने प्रदुषणलाई कम गर्न पानीको शुद्धता कायम गर्ने विधिलाई प्रयोगमा ल्याइन छ ।
–रोग संक्रमणको नियन्त्रणका लागि माछा मासुको खुल्ला र अव्यवस्थित विक्री वितरणलाई व्यवस्थित गर्दै संचालनमा आएका बधशालाको स्तर उन्नति गरिने छ । व्यवस्थित वधशाला संचालनमा ल्याउने निजी क्षेत्रलाई सहयोग गरिने छ।
–वर्षमा एक पटक हरेक वडाहरुमा निःशुल्क एकिकृत घुम्ती स्वास्थ्य शिविर संचालनमा ल्याइने छ।

पूर्वाधार विकास ः विकासको पहिलो निकास
–राजमार्गबाट उत्तर दक्षिण जाने सबै मुख्य सडकहरुका शाखा बाटाहरुमा कालोपत्रे र प्लेवर्स हालेर स्तर उन्नति गरिने छ। साना सडकहरुको स्तर उन्नतिका लागि विशेष कार्यक्रम संचालनमा ल्याइने छ।
–स्मार्ट सिटीको पूर्वाधार तयार गर्न हरित रिङ्गरोडको दीर्घकालिन गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याइने छ ।
– राजमार्ग क्षेत्रवाट अव्यवस्थित रुपमा हुने पानीको बहावलाई नियन्त्रण गर्न एकिकृत योजना तयार गरी कार्यान्वयनमा ल्याउने।
– नगर गौरव योजना अन्तर्गत जेष्ठ नागरिक पार्क तयार गरिने छ।
–नगरमा रहेका धार्मिक मठमन्दिर, सामुदायिक भवन, गुम्बा, मस्जिद, चर्च र पोखरीहरुको संरक्षण र सम्बद्र्धनमा सहयोग गरिने छ।
–विर्तामोड नगरपालिकामा देखिएको पार्किङ्ग समस्याको समाधान गर्न दीर्घकालिन गुरुयोजना संचालनमा ल्याइने छ।
– सडक ढल निकासलाई व्यवस्थित बनाईने छ ।
– विर्तामोड चोकमा देखिएको ट्राफिक समस्यालाई समाधान गर्न फ्लाई ओभर ब्रिज (आकाशे पल) र ट्राफिक बत्तीको व्यवस्था गरिने छ, साथै ट्राफिक व्यवस्थापनमा वैकल्पिक मार्गलाई उपयोगमा ल्याइने छ। ।
नगरका विभिन्न भागलाई जोड्ने पक्की पुल तथा कल्भर्टको निर्माण गरी यातायात र आवतजावतलाई व्यवस्थित र सुविधाजनक बनाइने छ । घाग्रा खोला, हर्चना खोला र देउनिया खोलासहित साना खोलाहरुमा तटबन्धन गरी क्षति न्युनिकरण गरिने छ।
–एक वडा एक खेलकुद मैदानको अवधारणा कार्यान्वयनमा ल्याई हरेक वडामा योगशाला, बाल उद्यान र सार्वजनिक पुस्तकालय तयार गरिने छ। साथै खेलकुदका हरेक विधाहरुमा दक्ष प्रशिक्षक राख्ने व्यवस्था गरिने छ

पर्यटन विकास र वातावरण ः स्वस्थ्य र सुन्दर नगरको अभियान
–यस नगरपालिकामा रहेको बाह्रदशी पोखरी, रामचोक सामुदायिक वन र विराटपोखरी, भेलागडी र सन्दर निचाझोडालगायतका क्षेत्रलाई आकर्षक पार्क र सार्वजनिक मनोरञ्जन स्थलका रुपमा विकास गरिने छ ।
–नगरको वातावरण तथा पर्यावरणलाई जोगाउन हरेक बर्ष १० हजार विरुवा हरेक वडामा वितरण गरी नगरको सुन्दरता र पर्यावरणको रक्षा गरिने छ ।
–अधुवा खोलाको दुवै किनारालाई व्यवस्थित तटबन्ध गरी किनारामा रहेका खाली जमिनमा ग्रिनजोन (हरित क्षेत्र) निर्माण गरिने छ।

सेवा र सामाजिक सुरक्षा ः पारदर्शी वितरणप्रतिको प्रतिबद्धता
–ऐलानी जग्गाको पहिचान गरी वास्तविक सुकुम्बासीलाई आवासको व्यवस्था गरिने छ ।
–जेष्ठ नागरिकहरुले राज्यबाट पाउने जेष्ठ नागरिक भत्ताको वितरण प्रक्रिया जटिल देखिएको हुनाले त्यसलाई सरलिकृत बनाइने छ ।
– विपन्न परिवारको निःशुल्क स्वास्थ विमा गरिने छ।
–विपन्न वर्गका गर्भवती महिला र शिशुको स्वास्थ्य संरक्षण गर्न पोषण प्याकेज तयार गरी पोषण सामग्री वितरण गरिनेछ ।
–विपन्न वर्गका परिवारलाई मृत्यु संस्कार कार्यका लागि रु २० हजारसम्मको सहयोग गरिने छ । .
–विपन्न परिवारको पहिचानको मापदण्ड तयार गरी टोल विकास समितिको सिफारिसमा विपन्न परिचय पत्र वितरण गर्दै उनीहरुलाई शिक्षा, स्वास्थ्य, आवास, सिपमुलक तालिम र आयआर्जनका कार्यक्रममा सहभागी गराउने नीति तथा कार्यक्रम तयार गरी संचालनमा ल्याइने छ।
–टोल विकास समितिहरुमार्फत अशक्तहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई घरमा नै पुगेर नगरपालिकाका सेवाहरु दिइने छ। विभिन्न समुदायको धर्म तथा संस्कृति अनुरुप मृत्यु संस्कार र शवदहन स्थल निर्माण गरिने छ ।
– थप एम्बुलेन्स र शववाहनको व्यवस्था गरिने छ ।
– गृहिणी महिलाहरुलाई परिकार बनाउने तालिम प्रदान गर्दै उनीहरुको सिप विकासमा सहयोग गरिने छ।
–जेष्ठ नागरिक भ्रमण, जेष्ठ नागरिक सम्मानजस्ता कार्यक्रमहरु संचालनमा ल्याई जेष्ठ नागरिक भित्र रहेको ज्ञान तथा अनुभवलाई नगरपालिकाको सम्पत्तिका रुपमा प्रयोगमा ल्याइने छ ।
सशासन र जवाफदेहिता ः भ्रष्टचारमुक्त नगर निर्माणमा हाम्रो प्रतिबद्धता
– भ्रष्टाचारमुक्त प्रशासन, सुशासन र पारदर्शितामा शुन्य सहनशिलता कायम गरिने छ ।
– करको दायरा फराकिलो बनाई करको दरलाई सामान्य बनाउने व्यवस्था गरिने छ।
–वडा कार्यालयको संयोजनमा आवाजविहीनहरुको आवाज मेयरसँग कार्यक्रम संचालनमा ल्याइने छ । यसका साथै नगरपालिकाका सरोकारवालाहरुसँग (कृपक, व्यापारी तथा व्यवसायी, उद्योगी, बौद्धिक समूह, अपाङ्गता तथा दृष्टिविहिन, महिला समुह, शिक्षक तथा विद्यार्थी, युवा समुह, गृहणी महिला, बालबालिका लगायत) संवाद गरी उनीहरुका समस्याको पहिचान र समाधानमा सहयोग गरिने छ ।
–नगरका हरेक क्रियाकलापहरुलाई पारदर्शी बनाउन नागरिकको सूचनाको हकलाई व्यवस्थित बनाउने छ । नगरका हरेक क्रियाकलापको सूचना नागरिक तहमा सम्प्रेषण गर्न डिजिटल एपहरु तयार गरिने छ ।
– सार्वजनिक सूचनाका लागि नगरपालिकामा रहेको डिजिटल प्रविधिलाई व्यवस्थित बनाइने छ।
–नगरपालिकाका बारेमा नागरिक हरुमा रहेका गुनासाहरुलाई सम्बोधन गर्न निःशुल्क हटलाईन सेवा उपलब्ध गराउदै नागरिकसँगको सम्बन्ध र समस्याको समाधानका लागि उचित प्रबन्ध गरिने छ ।
– टोल विकास समितिलाई अधिकार सम्पन्न बनाउँदै त्यसको सुदृढ परिचालन नीति तयार गरिने छ । टोल विकास समितिहरुलाई वास्तविक कृषक पहिचान, विपन्न परिवार पहिचान र नगरपालिकाका हरेक कार्यक्रममा सहभागी बनाउने व्यवहारिक नीति तय गरिने छ।
–नक्सा पास, जग्गा धनिपुर्जा वितरण र जग्गा पास गर्ने अधिकार क्षेत्र स्थानीय सरकारको हुने संवैधानिक अधिकारलाई कार्यान्वयनमा ल्याइने छ।
– रेल क्षेत्रमा रहेका जग्गाधनीहरुलाई उचित मुआब्जा दिलाउन र रेल लाईन संरचनालाई व्यवस्थित पारिने छ।
– नगरपालिकाका कर्मचारीहरुको क्षमता विकास गर्ने कार्यक्रमहरु संचालनमा ल्याइने छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्