बिर्तामोड , बैशाख १७ । स्थानीय निर्वाचन नजिकिँदै गएपछि नेपाली कांग्रेस पार्टी एवं गठबन्धन दलका तर्फबाट उठाइएका उम्मेद्वारहरुले प्रचार–प्रसार अभियानलाई तीब्र बनाएका छन् ।

नेपाली कांग्रेस एवं गठबन्धन दलका तर्फबाट गाउँ, नगर र वडाका लागि मनोनयन दर्ता गराएका उम्मेद्वारहरुले स्थानीय स्तरमा निर्वाचन परिचालन एवं प्रचार–प्रसार समिति गठन गरेर घरदैलो अभियानलाई तीब्र पारेका हुन् ।

झापाका आठवटै नगरपालिका र ७ वटै गाउँपालिकामा गठबन्धनमा आबद्ध दलहरुले संयुक्त निर्वाचन परिचालन समिति गठन गरेका छन् भने संयुक्त घोषणापत्र तयार पारेर नगर एवं गाउँको विकासका योजना बोकेर उम्मेद्वारहरु घरदैलोमा पुग्न थालेका छन् ।

घरदैलोमा पुगेका उम्मेद्वारहरुले स्थानीय तह निर्वाचनमा सहभागी हुन आम जनसमुदायलाई आह्वान गर्दै आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका छन् ।

संयुक्त गठबन्धनका तर्फबाट बिर्तामोड नगरपालिकामा मेयरका प्रत्यासी उम्मेद्वार भोजराज सिटौला र उपमेयरमा माओवादी केन्द्रबाट सीपी कडरिया रहेका छन् ।

चुनावी प्रचारका लागि कार्यतालिका बनाएर १४ गतेबाट वडा–वडामा निस्किएको टोलीले बिर्तामोड वडा नं. ४मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलो कार्यक्रममा ४ नं. वडाका वडाध्यक्ष उम्मेदवार कुलप्रसाद संग्रौला वडा सदस्यका उम्मेदवार राजु राजवंशी (सन्तोष), गोपीकृष्ण अधिकारी, महिला सदस्य सरिता मगर, दलित सदस्य उम्मेदवार आशा परियारको टिममा महाधिवेशन प्रतिनिधि उमा शिवाकोटी, नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

घरदैलो कार्यक्रममा ४ नं. वडाका वडाध्यक्षका उम्मेदवार संग्रौलाले ४ नं. वडाबासीका लागि गत कार्यकालमा ७० प्रतिशत काम गर्न सफल भएको र अब फेरि पनि जिताएर पठाए भने बाँकी ३० प्रतिशत काम पुरा गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्