झापा, बैशाख १७ । ९ वटा मूलभुत विषयलाई समेटेर नेकपा (माओवादी केन्द्र) हल्दिबारीले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

शनिबार हल्दिबारी–२ मा आयोजित एक कार्यक्रमका बीच माओवादी केन्द्र प्रदेश नं. १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) लगायतले सो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्र सार्वजनिक गर्दै प्रदेश अध्यक्ष मिक्सोले हल्दिबारी आफूहरुको आधार इलाका भएको दावी गर्दै कसैले हस्तक्षेप गरे सह्य नहुने चेतावनी दिए । उनले हल्दिबारीमा गठबन्धन किन भएन भनेर समीक्षा गर्दै चुनावी मैदानमा उत्रिन निर्देशन दिए ।

पार्टीका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भवानीप्रसाद दंगाल (भानु) ले प्रतिवद्धतापत्रबारे प्रकाश पारेका थिए । उनले मुलुकमा गणतन्त्र बहाली भए पनि हल्दिबारीमा हालसम्म गणतन्त्र नआएको बताउँदै भने, ‘हल्दिबारीमा अझै राजतन्त्र छ ,माओवादी केन्द्रको जीतसँगै हामी गणतन्त्र फर्काउँछौं ।’उनले मूलभूत रुपमा ९वटा विषयलाई समेटेर आफूहरु अघि बढ्ने बताए । पहिलो कचनकवल , दोस्रो बिर्तामोड र त्यसपछि भ्रष्टाचार हुने तेस्रो पालिकाको रुपमा हल्दिबारी रहेकाले भ्रष्टाचारमुक्त पालिका बनाउने हाम्रो उद्देश्य छ’, उनले भने, हामी सुशासन कायम गर्छौ ।’

‘हल्दिबारीको आयआर्जनको कृषि नै मुख्य आधार, कृषि उपजको बिक्री वितरणमा स्थानीय बजार’ नाराका साथ कृषि क्षेत्रको विकास र प्रबद्र्धनका लागि १६ बुँदे प्रतिबद्धता जाहेर गरिएको छ ।
त्यस्तै, ‘हल्दिबारीको खेलकूद हाम्रो पहिचान, समृद्ध पालिका बनाउन हँसिया हथौडामा मतदान’ नारा उल्लेख गरी युवा तथा खेलकुदको लागि १२ बु्ँदे प्रतिबद्धता व्यक्त गरिएको छ भने महिला तथा बालबालिकाको क्षेत्रमा १२ बुँदे, शिक्षा, स्वास्थ्यमा १६ बुँदे, पर्यटन प्रबद्र्धनका लागि १० बुँदे, सामाजिक सुरक्षा तथा सांस्कृतिक विकासमा १० बुँदे, सिँचाई र ऊर्जामा ७ बुँदे, उद्योग र सहकारी, ८ बुँदे, भौतिक पूर्वाधार, नदी नियन्त्रण लगायतका क्षेत्रमा उल्लेख्य काम गर्ने गरी प्रतिबद्धता जनाइएको छ ।

उपाध्यक्ष पदकी उम्मेदवार तथा पार्टीकी कार्यवाहक अध्यक्ष टीका राउतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका झापा सहइञ्चार्ज ज्योतिसिंह दर्लामी, जिल्ला संयोजक राजु आचार्य (अग्नि), सचिव मोहन टुडू, ३ नंं. क्षेत्रीय सहइञ्चार्ज धर्म शिवाकोटी, जिल्ला नेता बासु दुलाल, नरेन्द्र फागोलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्