झापा, बैशाख १८ । नेपाल भलिबल संघले आयोजना गर्ने राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता आजबाट सुरु हुँदै छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने छैटौं संस्करणको क्लब लिग भलिबल प्रतियोगिताको पहिलो दिन पुरुषतर्फका तीन खेल हुनेछ । हिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछ । खेल १० बजेबाट हुनेछ । १२ बजे हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल २ बजेबाट हुनेछ । लिगमा पुरुषतर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब गरी सात टिमले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, न्यु डायमण्ड र एभरेस्ट मा.वि गरी पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेता टोलीले ६ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथोले ७५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । त्यस्तै सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही समान ३५ हजार रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही समान १५/१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्