बिर्तामोड, बैशाख २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई असफल बनाउनबाट रोक्नका लागि संघीयता खोरज गर्नुपर्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचनको लागि राप्रपाले बिर्तामोडमा बिहीबार आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै अध्यक्ष लिङ्देनले ढिलो चाँडो देश असफल बन्न लागेकाले त्यसतर्फ सचेत रहन आग्रह गर्दै असफल सावित भइसकेको संघीयता खारेज गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताए ।

‘कांग्रेस , एमाले , माओवादी असफल बन्दा केही पनि हुँदैन ’उनले भने , ‘देश असफल बन्नु हुँदैन ।’ आफूहरु गलत बाटोमा हिडिरहेको महसुस हुँदासमेत ठूला राजनीतिक दलहरु सच्चिन तयार नभएको लिङ्देनले बताए । दलका नेताहरुको परिवारको लागि मात्र ४ खर्ब रकम खर्च हुने गरेको बताउँदै उनले संघीयता अब देशले धान्न नसक्ने धारणा राखे । आफूहरुको पार्टी सानो भएपनि देशलाई बचाउने अभियानमा लागेको उनको भनाई थियो ।

कार्यक्रममा नेतृ रेखा थापा , बिर्तामोड नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार ध्रुव उप्रेती , उपप्रमुख पदका उम्मेदवार रन्जु प्याकुरेललगायतले बोलेका थिए । राप्रपाले बिर्तामोडमा नगर प्रमुख , उपप्रमुखसहित ५२ वटै पदमा उम्मेदवारी दिएको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । गत स्थानीय तहको निर्वाचनमा राप्रपाले तेस्रो शक्तिको रुपमा मत पाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्