बिर्तामोड, बैशाख २३ । नेपाली कांग्रेसका बागी उम्मेदवारहरुलाई एमालेले उचालेको दावी गरिएको छ ।

नेकपा माओवादी केन्द्रसंगको गठबन्धनप्रति वितृष्णा फैलाएर कांग्रेसका आकांक्षीहरुलाई एमालेले बागी उम्मेदवारी दिन लगाएको दावी गरिएको हो । बिर्तामोड नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका कांगे्रसका बागी उम्मेदवारहरुलाई एमालेले शुरुदेखि नै उचाल्ने काम गरिरहेको एमालेकै एक उम्मेदवारले स्वीकारेका छन् ।

बिर्तामोड वडा नं ९ मा गठबन्धनका तर्फबाट माओवादीका मोहन सुब्बा अध्यक्षका उम्मेदवार छन् । उनीविरुद्ध एमालेले बागी उम्मेदवारको रुपमा कांग्रेसका जयराज ढकाललाई उम्मेदवारी दिन लगाएको एमालेका ती उम्मेदवारले बताए । त्यस्तै अन्य बागी उम्मेदवारलाई पनि विपक्षी एमालेले सहयोग गरिरहेको जनाइएको छ । उचाल्ने कामदेखि लिएर चुनाव लड्न समेत एमालेले खर्च दिइरहेको बताइएको छ ।

कांग्रेसमा असन्तुष्टि पैदा गरी गठबन्धनको मत काटाकाट गर्न पाए एमालेका उम्मेदवारलाई निर्वाचन जित्न सजिलो हुने उसले रणनीति बनाएको हो । वडा नं ९ का वडाध्यक्षका उम्मेदवार सुब्बाले एमालेकै उम्मेदवारहरुले आफूहरुको गठबन्धनलाई कमजोर बनाउन बागी उम्मेदवार उठाएको दावी गरे । उम्मेदवार छनौटका क्रममा एमालेमा पनि केही असन्तुष्टि देखिएपनि कांग्रेसजस्तो बागी उम्मेदवार उठेका छैनन् ।

यसैबीच नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले राष्ट्रिय आवश्यकताका आधारमा गठबन्धन भएको बताउँदै इमान्दारीपूर्वक पालना गर्न कांग्रेस कार्यकर्तालाई आह्वान गरेका छन् ।
गठबन्धन दलका तर्फबाट अर्जुनधारा नगरपालिकाका लागि प्रमुखका उम्मेद्वार रञ्जिता कार्की, उपप्रमुखका उम्मेद्वार जितेश योन्जन, १० नम्बर वडाध्यक्षका उम्मेद्वार नारायण तामाङ एवं वडा सदस्यहरुको घरदैलो कार्यक्रमअन्तर्गत अर्जुनधारा १० मा आयोजित कोणसभालाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । नेपाली कांग्रेस एवं गठबन्धन दलका उम्मेद्वारका विरुद्ध स्वतन्त्र उम्मेद्वारी दिने बागी उम्मेद्वार एवं तिनका समर्थक र प्रस्तावकहरुका विरुद्ध पार्टीको विधान बमोजिम केन्द्रीय समितिले कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै उनले गठबन्धन दलबीच भएको राजनीतिक सहमति कार्यान्वयनका लागि कार्यकर्तालाई आग्रह गरे । नेपाली कांग्रेसको विधान–२०१७ (संशोधनसहित) धारा–४ को उपधारा–१३ (ग) बमोजिम बागी उम्मेद्वारको सदस्यता स्वतः खारेज हुने ब्यवस्था उल्लेख छ ।

गठबन्धन दललाई अत्यधिक बहुमतका साथ विजयी गराउन आम जनसमुदायसमक्ष अपिल गर्दै सभापति थेवे गठबन्धनका तर्फबाट अहिले गरिएका प्रतिबद्धताहरु सबै गाउँ÷नगरमा पूरा गरेर देखाउने आश्वासन दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरु, झापा इन्चार्ज राजु आचार्य अग्नी, कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, अर्जुनधारा नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक दीपक तामाङ, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, नेपाल महिला संघ अर्जुनधाराका सभापति लिलादेवी कटुवाल, वडा सभापति यज्ञलाल श्रेष्ठसहित कांग्रेस र माओवादी कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । प्रचार–प्रसार कार्यतालिका अनुसार यसअघि अर्जुनधारा नगरपालिकाका १ देखि ९ नम्बर वडासम्म वडास्तरमा घरदैलो एवं चुनावी सभा सम्पन्न भइसकेको छ भने गठबन्धन दलले शुक्रबार अर्जुनधारा–१० र शनिबार अर्जुनधारा–११ मा प्रचार अभियान तय गरेको छ ।
गठबन्धन दलका उम्मेद्वारहरुले शुक्रबार अर्जुनधारा–१० को कालीस्थान, सेतीपानी, चिसापानी, जलकन्या आसपासका स्थानमा मतदाताको घरदैलोमा पुगेर मत मागेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्