बिर्तामोड ,बैशाख २३ । नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिकाको नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाईले अबका दिनमा विकास निर्माणसंगै उद्यमशीलता र रोजगारीको सृजना गर्न आवश्यक रहेको बताएकी छन् ।


स्थानीय तह निर्वाचन प्रचार अभियानका क्रममा शुक्रवार वडा नम्बर ७ मा आयोजना गरिएको चुनावी सभालाई संवोधन गर्दै उम्मेदवार प्रसाईले शिक्षा,पर्यटन,स्वास्थ्यको हबसंगै बिर्तामोडलाई उद्यमशीलता र व्यावसायिक करिडोरको रुपमा समेत अघि बढाउने बताइन् । उनले व्यावसायिक आधुनिक कृषि प्रणाली र पर्यटन प्रवद्र्धनका योजनाहरुलाई पनि अघि बढाउने आश्वासन दिइन् ।

यसैगरी कोणसभालाई सम्बोधन गर्दै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले वडा नम्बर ७ हात्ती प्रभावित क्षेत्र भएकाले यसको नियन्त्रणका लागि सबै ठाउँमा विद्युतीय तारबार लगाउने बताए । उनले देउनिया खोला नदी नियन्त्रणका लागि गुरुयोजना तयार पारेर तारजाली लगाउने प्रतिवद्वता समेत जनाए । यस्तै कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्षका उम्मेदवार अविरल कृष्ण खरेलले यस वडामा हर्चना मिलडाँडा हुँदै बिरान जाने सडकसहित कम्तिमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने, विपन्न आवास निर्माण गर्ने ,ज्येष्ठ नागरिक भवनको घेराबारा गर्ने र विद्युत लगायतका समस्या समाधान गर्ने आश्वासन दिए ।

एमालेले वडा नम्बर ७ मा सुन्दर निचाझोडा सामुदायिक वनलाई सिमसारको क्षेत्रको रुपमा संरक्षण गर्ने,अग्निपथ निर्माण गर्ने,सहिद नेत्र पार्कलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने,कच्ची सडकलाई कालोपत्रे तथा स्तरोन्नती गर्नेलगायतका महत्वपूर्ण योजनाहरुलाई अघि सारेको छ ।

कोणसभालाई प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल,राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटी,प्रदेश सांसद एकराज कार्कीलगायतका नेताहरुले संवोधन गरेका थिए । शुक्रवार वडा नम्बर ७ को सिताराम टोल,मिलडाँडा,मियावाडी,गरामनी,भुसावाडीलगायतका क्षेत्रमा घरदैलो तथा कोणसभा सम्पन्न भएको छ । यसैबीच नेकपा माओवादी केन्द्रको भातृसंगठन राष्ट्रिय कर्मचारी संगठन दुग्ध विकास संस्थानका केन्द्रीय सदस्य ओमकार खरेल एमालेमा प्रवेश गरेका छन् ।
बिर्तामोड ७ निवासी खरेल शुक्रवार एमालेमा प्रवेश गरेका हुन् । खरेलले मुलुक अब माओवादी केन्द्रबाट सञ्चालन हुन नसक्ने र जनताको पार्टी नेकपा एमालेमात्र भएकोले पार्टी परित्याग गरि एमाले प्रवेश गरेको बताए ।
खरेललाई राष्ट्रिय सभाका पूर्वसदस्य शिवाकोटी,प्रतिनिधिसभा सदस्य खरेल,प्रदेश सांसद कार्की,नेकपा एमाले बिर्तामोड नगर कमिटीका इञ्चार्ज देवराज कार्कीले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्