झापा, बैशाख २४ । झापाको मेचीनगरमा केटी पक्षसँग दाइजोमा मोटरसाइकल माग्ने बेहुलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मेचीनगर नगरपालिका– १५ ज्यामिरगढी निवासी पुष्पलाल राजवंशीकी छोरीको विवाहमा बेहुला झापा गाउँपालिका– ४ निवासी विश्वेश्वर चौधरी( गनगाई) का छोरा २८ वर्षीय डेबिट चौधरीले दाइजोमा मोटरसाइकल मागेका थिए।

बेहुला पक्षले मोटरसाइकल नदिए विवाह नगर्ने भन्दै मण्डपमै विवाद गरेपछि बेहुली पक्षले बेहुला पक्षलाई विपक्षी बनाएर प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

बिहीबार राति बेहुला पक्ष विवाह गर्न बेहुलीको घर पुगेका थिए। राति विवाह सम्पन्न भएपछि बिहान खिर खुवाउने बेलामा बेहुला पक्षले एक्कासी दाइजोमा मोटरसाइकल माग्दा दुवै पक्षबीच विवाद भएको डिएसपी पाठकले बताए। उनले भने, ‘मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने परिवारमा कसरी छोरी दिनु भन्दै बेहुलीको परिवारजनले उजुरी दियो।’

यता प्रहरीमा उजुरी परेपछि बेहुला चौधरीलाई प्रहरीले बेहुलीको घरबाटै शुक्रबार नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेको छ। प्रहरीले बेहुलामाथि विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान थालेको जनाइएको छ । डेबिटले प्रेम गरेर पुष्पलालकी छोरीसंग मागी विवाह गरेका थिए ।

राजवंशी , गनगाई , ताजपुरिया जातिमा बेहुली अन्माउनुअघि बेहुला र बेहुलाका भेनाहरुलाई खिर खुवाउने चलन छ । त्यसबेला बेहुलाले अडान लिने र केही न केही दिएर बेहुलालाई मनाएर खिर खुवाउनुपर्ने विकृति रहेको छ । त्यही खिर खुवाउने बेलामा डेबिटले बेहुली पक्षलाई अप्ठ्यारोमा पारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्