विर्तामोड , वैशाख २५ । बिर्तामोड नगरपालिकाका मेयर पदका उम्मेदवारहरुले नगरलाई फोहोरमैला मुक्त र सुरक्षित शहर बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।

उनीहरुले बिर्तामोडको व्यापारिक गतिविधिलाई थप बढाउने गरी खेलकुद , पर्यटन र कर प्रणाली व्यवस्थापनतर्फ विशेष योजना लागू गर्ने दाबी गरेका छन् । संवाद समूह झापाले आइतबार विहान बिर्तामोडमा आयोजना गरेको छलफलमा सहभागी उनीहरुले भौतिक पूर्वाधारसंगै सम्भावना बोकेका क्षेत्रको विकास गर्न नसक्दा बिर्तामोडले हासिल गर्नुपर्ने विकासको गति समात्न नसकेको बताए । नेकपा एमालेबाट मेयर पदकी उम्मेदवार पवित्रा महतारा प्रसाईले आफ्नो पहिलो योजना बिर्तामोडलाई व्यापारिक र मानवीय दुवै हिसाबले सुरक्षित बनाउनु रहेको बताइन् । उनले बिर्तामोडलाई बन्दमुक्त क्षेत्र घोषणा गरेर व्यापारीलाई निर्धक्क व्यापार व्यवसाय गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिन् । नगरपालिकाले कर प्रणालीलाई अझै पूणर्रुपमा व्यवस्थापन गरिनसकेकाले आगामी कार्यकालमा उद्योगी , व्यवसायीको हितमा हुनेगरी कर प्रणालीको व्यवस्थापन गर्ने बताइन । उनले नगरभित्र पर्यटनको सम्भावना बोकेका पोखरी, पार्कलाई व्यवस्थित गरेर पर्यटनबाट आम्दानी, बेरोजगारलाई रोजगारी सिर्जना गर्ने बताइन् । उनले डोमालाल राजवंशी रंगशालालाई बृहत रंगशालाको रुपमा विकास गर्ने योजना रहेको सुनाइन । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार भोजराज सिटौलाले बिर्तामोडवासीको जीवनस्तर सुखी बनाउने योजनाहरु लागू गर्ने बताए ।

उनले गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नगरवासीको पहँुच र सेवा पुर्याउने बताए । उनले नगरभित्रै निःशुल्क डायलासिसको व्यवस्था मिलाउने बताए । विज्ञ नियुक्त गरेर नगरको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने सिटौलाले बताए । उनले डोमालाल राजवंशी रंगशाला निर्माण गरी बिर्तामोडलाई खेलकुदको क्षेत्रबाट पनि पहिचान बनाउने कार्यक्रम ल्याउने बताए । करको दर पुनरावलोकन गर्ने तथा नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने बताए । उनले कृषि, पर्यटनमा आम्दानीमूलक कार्यक्रम लागू गरेर नगरका प्रत्येक घरमा शुद्ध खानेपानीको सुविधा पुर्‍याउने दाबी गरे । राप्रपाबाट मेयर पदका उम्मेदवार ध्रुवकुमार उप्रेतीले आफ्नो मुख्य एजेण्डा बिर्तामोड नगरपालिकालाई वडास्तरसम्मै भ्रष्टाचारमुक्त बनाउने भएको बताए । उनले १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्ने, सबैको पहुँचमा पुग्नेगरी स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम लागू गर्ने बताए । उप्रेतीले विज्ञसंग सल्लाह गरेर अन्धुवा खोलाको उचित व्यवस्थापन गर्ने तथा व्यापारीलाई करमा छुट, विद्युतमा छुट र ढुवानीमा समेत छुटको व्यवस्था गर्ने बताए । उनले सुत्केरी महिलालाई मासिक तीन हजार तथा सुत्केरी पशुलाई मासिक एक हजार भत्ताको सुविधा समेत दिने बताए । जनता समाजवादी पार्टीबाट मेयरका उम्मेदवार उदय गुरुङले बिर्तामोडको फोहोरमैला व्यवस्थापन गर्न त्यति गाह्रो नभएकाले आफू निर्वाचित भए तत्काल उक्त काम गर्ने बताए । उनले बिर्तामोड नगरपालिकाभित्र सबै जातजाति, भाषाभाषीको सहज पहुँच हुने अवस्था सिर्जना गर्ने बताए । सामुदायिक विद्यालयको शिक्षाको अवस्था सुधार गर्ने योजना आफूहरुसंग भएको बताए । नेपाल परिवार दलबाट मेयरका उम्मेदवार केदार ढुंगानाले बिर्तामोडलाई आवश्यक विकास निर्माण हुन नसकेकाले आफू उम्मेदवार बनेको बताए । उनले बिर्तामोडको १० वटै वडाको समग्र विकास गर्ने योजनासाथ चुनावी मैदानमा होमिएको बताए । आमूल परिवर्तन मसिहा पार्टीबाट मेयरका उम्मेदवार मनकुमार खुदाङ लिम्बूले बिर्तामोड व्यापारिक महत्व बोकेको नगर भएकाले व्यापारिक क्षेत्रबाट नमुना सिटीको रुपमा विकास गर्ने योजनासाथ आफू उम्मेदवार बनेको बताए । उनले १२ कक्षासम्मको शिक्षा निशुल्क गर्ने, गरिब जनतालाई सहज र निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने योजना आफूसंग भएको बताए ।

उनले कृषिथोक बजारलाई आधुनिक बजारका रुपमा विकास गर्ने दाबी गरे । उनले नगरभित्रका साघुरा सडकलाई आगामी ७० वर्षसम्म प्रभावकारी हुनेगरी सडक फराकिलो बनाउने बताए । मौलिक जरोकिलो पार्टीबाट मेयरका उम्मेदवार प्रज्वल अधिकारी शर्माले बिर्तामोडलाई नगरको अभिभावकीय निकायका रुपमा विकास गर्न आफू उम्मेदवार बनेको बताए । उनले नगरपालिकाको सही व्यवस्थापन हुन नसक्दा नगरभित्रको विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायतका सेवाहरु प्रभावकारी र जनमुखी बन्न नसकेको बताए । मेयर पदका स्वतन्त्र उम्मेदवार नगेन्द्र अधिकारीले बिर्तामोडमा स्रोत साधन भएर पनि आशातित विकास निर्माणको काम नभएको देखेर आफू उम्मेदवार बनेको बताए । उनले आफू मेयर पदमा निर्वाचित भए सबै पक्ष र क्षेत्रलाई समेटेर बिर्तामोडलाई रुपनान्तरण गरी नमुना बनाउने बताए । उनले बिराटपोखरीलाई ‘सुन पोखरी’ को रुपमा विकास गर्ने बताए । साथै मेयरका सबै उम्मेदवारले बैशाख ३० को निर्वाचन शान्तिपूणर्, स्वच्छ, निष्पक्ष, उत्साहजनक सहभागीतामा सम्पन्न गर्न तथा निर्वाचन आयोगले जारी गरेको आचारसंहितको पूणर् पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्