भद्रपुर, बैशाख २५ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक सदासय र नैतिकता गुमाएको एमालेको नेतृत्व कुनै पनि सरकारमा आवश्यक नरहेको बताएका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत संयुक्त गठबन्धनको आयोजनामा भद्रपुर ९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले पाँच वर्षका लागि निर्वाचित संसद दुई-दुई पटक विघटन गर्दा अदालतले बदर गरेर राजनीतिक बेइमानी प्रमाणित गर्दा समेत जनतासित माफी माग्न नसक्ने दलको अध्यक्ष रहेको एमालेले नेतृत्व लिने नैतिक धरातल नरहेको बताएका हुन् ।
शर्माले २०७४ को निर्वाचनमा एमाले नेतृत्वको कम्युनिष्टलाई भारी बहुमत दिएका नेपाली नागरिकले कोरोनाको विपतमा ओलीका कारण सिर्जना भएको कम्युनिष्टहरूकै अन्तर कलह हेरेर उपचार नपाइ मर्नुपर्ने अवस्था समेत भोगिसकेको भन्दै परिवर्तित व्यवस्था बचाउन गठबन्धन बाध्यात्मक परिस्थिति बनेर आएको प्रष्ट पारे । उनले काँग्रेसले माओवादी र माओवादीले काँग्रेसलाई विश्वास गर्नु हुँदैन भन्ने भ्रम छरेर निर्वाचन जित्ने दाउ हेरिरहेका एमाले नेता कार्यकर्ताको सपना पूरा नहुने समेत बताए । उनले भद्रपुर नगरको २०७४ को निर्वाचनको गणित मात्र हेर्ने हो भने काँग्रेस माओवादीको मत मात्र जोड्दा पनि एमाले भन्दा हजार बढी मत हुने स्मरण गर्दै शर्माले एमाले छिन्नभिन्न भएपछि विगतको ३ हजार बढी मत नेकपा एसमार्फत गठबन्धनमै मिसिएकोले अत्याधिक मतका साथ भद्रपुरमा गठबन्धनले जित्ने दावी गरे ।
शर्माले केपी ओलीको बोली बुझिए पनि सत्ता सञ्चालनको काम नागरिकले बुझ्न नसकेको भन्दै गठबन्धन सरकारका काम जनताले बुझने गरी सञ्चालन भएको धारणा राखेका थिए ।

कोरोनाको संकटमा सत्ताधारी गठबन्धनले खोप लगाउने अभियान चलाएको स्मरण गर्दै ओली सरकार अम्बाका पात, बेसार पानीमा अलमल गर्दा चार हजार बढीले ज्यान गुमाउनु परेको समेत उल्लेख गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य धर्मशीला चापागाईले नेकपा एमाले कम्युनिस्ट चरित्र गुमाइसकेको दलाल पूजीवादी प्रवृत्ति बोकोको पार्टी भन्दै कम्युनिस्ट पार्टीको मूलधार नेकपा माओवादी रहेकाले सवै सचेत कम्युनिस्ट एक भएर प्रतिगमनकारी ओलीवादको अन्त्य गर्न आग्रह गरिन् । उनले गठबन्धन बाहिर मतदान गर्नु नहुने भन्दै माओवादी र काँग्रेस भनेर मतदाता भड्काउन एमालेका भिजिलान्ते प्रवेश गरेकाले सचेत हुन समेत आग्रह गरिन् । नेकपा समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद पुष्पराज पोखरेलले भद्रपुरमा सूर्य चिन्हमा कालो ग्रहण लागि सकेको हुनाले एमाले नामको पार्टीका उम्मेदवार पराजित हुनेमा कुनै संका नरहेको बताएका छन् ।

पोखरेलले झापाली कम्युनिस्ट आन्दोलनको नेतृत्व आफ्नो दलले मात्र गर्न सक्ने भन्दै भद्रपुरमा गठबन्धनका सवै उम्मेदवार विजयी हुने आधार प्रसस्त रहेको उल्लेख गरेका छन् । कार्यक्रममा उपमेयरका प्रत्यासी शिवकुमार राजभण्डारीले गठबन्धनको आवश्यकता भद्रपुरको उन्नति प्रगतिका लागि भएको प्रष्ट पारे । उनले शिक्षा, स्वास्थ्य, रोजगारी प्रवर्धनदेखि भौति उन्नतिसम्मका विकास आयोजना परिचालन गर्न एमाले नेतृत्वले पटक पटक अवसर गुमाएका कारण पनि आफ्नो उम्मेदवारी जरूरी रहेको प्रष्ट पारेका छन् । मेयर पदका प्रत्यासी गणेश पोखरेलले २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनले नेकपा एमालेलाई सुविधाजनक बहुमत सहित भद्रपुरको नेतृत्व दिएको भए पनि गर्व गर्न सक्ने एउटा पनि काम नगर सरकारले गर्न नसकेको भन्दै आफूले नेतृत्व पाए भद्रपुरको मुहार फेर्न इमान्दार भएर लाग्ने प्रतिबद्धता राखेका छन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी प्रवद्र्धन, कृषि विकास, ग्रामीण सडक स्तरीकरण, फजुल खर्च कटौती, विलासी नेतृत्वको अन्त्य, पिउने पानीको उपलब्धता सहज बनाउने लगायत आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्