बिर्तामोड , बैशाख २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनमा राम्रो पार्टी र राम्रो नेता छान्न मतदाताहरुलाई आग्रह गरेका छन् ।

राप्रपाद्वारा आज बिहान बिर्तामोड ३ स्थित बिर्ताबजारको पुण्डरी चौकमा आयोजित कोणसभालाई संबोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले विगतका निर्वाचनमा राम्रो पार्टी र राम्रो नेता चुन्न नसक्दा जनताले दुख भोग्नुपरेकाले यस स्थानीय तहको निर्वाचनमा राम्ररी सोच विचार गरेर मात्र भोट हाल्न आग्रह गरेका हुन् । ‘तपाईहरुले हात काटेर मत दिँदै हुनुहुन्छ’उनले भने ,‘ जसलाई हात काटेर दिँदै हुनुहुन्छ , उसले सहयोग गर्नुको साटो तपाईको घाटी नअठ्याओस् ।’

अहिले मतदाताहरुले दलका नेता र उम्मेदवारहरुबाट अतिरिक्त नमस्कार पाइरहेको भन्दै लिङ्देनले भने ,‘भोट हाल्ने लाइनमा उभिँदासम्म तपाईलाई कोट्याइ कोट्याइ नमस्कार गर्ने नेताहरुले भोट हालेर फर्किदा तपाईकोे नमस्कार फर्काउँदैनन् ।’ त्यसकारण मतपत्र र स्वस्तिक छाप आफ्नो हातमा परेको बेला प्राप्त हुने शक्तिलाई सही सदुपयोग गर्न उनले आग्रह गरे ।

पार्टीका क्षेत्रीय अध्यक्ष दीपक मास्केको अध्यक्षतामा भएको कार्यक्रममा ३ न. वडाका वडाध्यक्षका उम्मेदवार किरण पौडेल , वडा सदस्यका उम्मेदवार रुमिला राईलगायतले बोलेका थिए । कार्यक्रममा मेयरका उम्मेदवार ध्रुव उप्रेती , उपमेयरका उम्मेदवार रन्जु प्याकुरेल , पार्टीका केन्द्रीय नेता भक्ति सिटौला , जिल्ला अध्यक्ष केशव ओझालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्