झापा , वैशाख २६ । झापाका उमेश राईले १६ औं धर्मश्रीको उपाधि जितेका छन् ।

एनआरके फिटनेसका राईले झापाकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । राईले नगद १० लाख, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य उपहार प्राप्त गरे । उपविजेता धिमालले नगद ५ लाख हात पारे । मसल्स एन्ड फिटनेस, नयाँबजारका कृष्णबहादुर सूर्यवंशी तृतीय भए । उनले नगद २ लाख प्राप्त गरे । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको प्रतियोगितामा राई ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधिको ओभर अल राउन्डमा प्रवेश गरेका थिए । यस्तै धिमाल ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउन्डमा प्रवेश गरेका थिए । सूर्यवंशीले ७५ केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए । शनिबार राति सम्पन्न प्रतियोगितामा ७ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहमा विजेता भएका खेलाडीहरूले अन्तिम चरणमा धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए । त्यही क्रममा चौथो स्थानमा बिलिजेन्ड सेप फिटनेस, खुसिबुका सञ्जमसागर शाक्य रहे । ७० केजी तौल समूहका उनले नगद १ लाख ५० हजार प्राप्त गरे । पाँचौं स्थानमा प्लानेट फिटनेस इटहरीका पुष्प शंकर रहे । ६५ केजी तौलका उनले नगद १ लाख प्राप्त गरे । छैटौं स्थानमा आयोजक नेपाल व्यायाम मन्दिरका डेभिड बलामी रहे ।

६० केजी तौलका उनले नगद ९० हजार प्राप्त गरे । यस्तै अन्तिम तथा सातौं स्थानमा आयोजक संस्थाकै राजु राई रहे । ५५ केजी तौल समूहका उनले नगद ८० हजार प्राप्त गरे । विजयी खेलाडीहरूलाई उपराष्ट्रपति नन्दकिशोर पुनले पुरस्कार वितरण गरे । तौल समूहअन्तर्गत भएको प्रतिस्पर्धामा ५५ केजी तौलमा जिम एक्स नयाँबजारका उमेश डंगोल दोस्रो र हेल्थ बेनिफिटनेस, नेपालगन्जका सिद्धान्त जसरोटिया तेस्रो भए । ६० केजीमा युनिभर्सल फिजिकल फिट, भक्तपुरका किसनदास दिवाकर दोस्रो र रत्नश्री, पोखराका सुरेश लामा तेस्रो भए । ६५ केजीमा आयोजकका आशिष देवाजु दोस्रो र यारो फिटनेस, मोरङका मोनोज सुवेदी तेस्रो भए । ७० केजीमा द वर्कआउट स्टेसन नयाँबजारका अशोक महर्जन दोस्रो र रूपन्देही फिटनेस टाइमका कृष्णप्रसाद श्रेष्ठ तेस्रो भए । ७५ केजीमा बिलिजेन्ड सेप फिटनेस खुसिबुका प्रवेश श्रेष्ठ दोस्रो र आयोजकका आदित्य ठाकुर तेस्रो भए । ८० केजीमा प्याराडाइज फिटनेस सेन्टर, कलंकीका विवेकसिंह धामी दोस्रो र प्लाटिनियम फिजिक फिटनेस, बानेश्वरका हरि थापा तेस्रो भए । ८० केजी माथिको तौलमा आयोजकका ग्रिस महर्जन दोस्रो र गोर्खाली फिटनेस न्युरोडका अरुणकुमार प्रधान तेस्रो भए । दोस्रो हुनेले ४० हजार र तेस्रो हुने खेलाडीले २५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्