पथरीशनिश्चरे , बैशाख २६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कांग्रेसले ५ वर्षको लागि स्थानीय तहको सरकार चलाउने जिम्मा लिन चाहेको बताएका छन् ।

सोमबार मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित नेपाली कांग्रेस पथरीशनिश्चरेले नगर समितिले आयोजना गरेको कोणसभालाई संबोधन गर्दै महामन्त्री थापाले २०७९ देखि २०८४ सम्मको ५ वर्ष स्थानीय , प्रदेश र संघीय सरकारका लागि कांग्रेसलाई पालो दिन जनतासँग अपिल गरे ।

उनले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, संचार, विजुली,विकासका पूर्वाधार आदिमा जनतासंग डराएर ईमान्दारितापूर्वक काम गर्न चाहेको बताए । उनले यो पटक स्थानीय तहको चुनावमा काँग्रेसका तर्फका उम्मेदवारलाई भोट दिएर जिताउन अनुरोध गर्दै भने –’ ५ वर्ष पथरीशनिश्चरे नगरपालिकाको लागि कांग्रेसका मेयरले मेयर साब भएर होइन, जनताको सेवक बन्ने हो ’ ।

उक्त अवसरमा पूर्व परराष्ट्रमन्त्री तथा संविधानसभाका सभासद डा. मिनेन्द्र रिजालले नेकपा एमालेले विगतमा थुप्रै अवसरहरू प्राप्त गरेर पनि नेपाली समाजको समृद्धिका लागि केही गर्न नसकेको आलोचना गरे । उनले पानीजहाज, घरघरमा ग्यास पुर्याउने भनेर झुक्याएको आरोप लगाए । युवा नेता गुरुराज घिमिरेले एमालेले जनताको बीचमा झुटो सपना बाँडेर विकास र समृद्धि प्रदान गर्नै नसक्ने दावी गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्