बिर्तामोड, बैशाख २७ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहंकारको घोडा चढ्नेलाई ओराल्न तालमेल भएको बताएका छन् ।

संयुक्त गठबन्धन बिर्तामोडद्वारा मंगलबार बिर्तामोडमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले अहंकारको घोडा चढ्नेलाई ओराल्न गाह्रो हुने भन्दै त्यसको लागि दलहरुबीच तालमेल भएको बताएका हुन् ।

महामन्त्री शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ इङ्गित गर्दै पैसा तिरेर कन्यामको घोडा चढ्नेलाई र सिंहदरबारको सत्ताको घोडा चढ्नेलाई ओराल्न सजिलो हुने तर अहंकारको घोडा चढ्नेलाई ओराल्न गाह्रो हुने बताए । ‘माथि कन्याममा घुम्न जानु भो भने पैसा तिरेर घोडा चढ्न पाइन्छ, त्यहाँ घोडामा चढेको मान्छेलाई ओराल्न गाह्रो हुन्न,’ उनले भने,‘सिंहदरबारको सत्ताको घोडा चढ्ने मान्छेलाई पनि ओराल्न गाह्रो हुन्न तर, जसले अहंकारको घोडा चढेको हुन्छ उसलाई त्यहाँबाट ओराल्नलाई गाह्रो हुन्छ । आज तालमेल त्यसकारणले बनेको छ कमरेड केपी ओली अहंकारको घोडा चढ्नतर्फ लाग्नु भो ।’ ओलीले अहंकारको घोडा चढेर मुलुकलाई अगाडी बढाउन खोजेकाले यो तालमेल बनेकाले कुनै अप्ठ्यारो नमानी ग्रहण गर्न मतदातालाई उनले आग्रह गरे । ‘यो मुलुकको संसदलाई विघटन गर्ने, कोरोनाले मान्छे मरिरहेको बेला चुनावको घोषणा गर्ने, आफ्नो पार्टी विभाजन गर्नतर्फ लाग्ने र एउटा अहंकारको घोडामा चढेर मुलुकलाई अगाडी लाँदै गर्दा यो तालमेलको आवश्यकता बन्यो,’ उनले भने,‘ त्यसैले यो तालमेललाई कुनै अप्ठ्यारो नमानिकन ग्रहण गर्न म बिर्तामोडका साथीहरुलाई अपिल र आग्रह गर्न चाहन्छु ।’ उनले दलहरुमा तालमेल नहुँदा देशले दुःख पाएको र हिंसा भोग्नु परेको बताए ।

शर्माले दलहरुबीच तालमेल भएर १२ बुँदे सम्झौतामा हस्ताक्षर भएपछि शान्ति सुरक्षा कायम भएको स्मरण गराए । दलहरुबीच तालमेल नहुँदा संविधान लेख्न नसकिएको, संविधानसभा विघटन भएको र तालमेलपश्चात् देशले संविधान पाएको र शान्ति कायम पाएको शर्माले बताए । देशले शान्ति सुरक्षा, संविधान पाउँछ भने तालमेल गर्नुपर्ने उनले बताए । माओवादीको बन्दुकले नै गणतन्त्रको मुद्धालाई केन्द्रीय भागमा ल्याएको हो भन्ने कुरालाई स्वीकार्न कसैले हिच्किचाउनु नपर्ने बताउँदै कम्युनिष्ट आन्दोलनको एकताका लागि त्याग गरेका प्रचण्डको विश्वासलाई पनि ओलीले तोडेको उनले बताए ।

झापामा के हुँदैछ परिणाम भन्ने कुरा बुझ्नका लागि दुईटा मात्र तस्बिर बुझे पुग्ने शर्माले बताए । उनले नेकपा एमालेका वडा सदस्य पदका उम्मेदवारले गठबन्धनको कार्यक्रममा सार्वजनिक रुपमा भाषण गर्दै उम्मेदवारी त्यागेको र एमाले अध्यक्ष ओली गृहजिल्लामा घुमिरहनुले पनि गठबन्धनको माहोल बनेको बताए ।

पार्टीको मुख्य जिम्मेवारीमा रहेका ओली गृहजिल्लामा आफूहरुको वरिपरि घुमिरहनुले गठबन्धनको माहोल सहजै बुझ्न सकिने शर्माको भनाई थियो । दमक वडा नम्बर ७ का एमालेको तर्फबाट वडा सदस्य पदका उम्मेदवार गुमानसिंह तामाङले दमकमा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै आफूले उम्मेदवारी नै फिर्ता लिएको घोषणा गरेका थिए । २०७४ मा पहिलो भएको एमालेमा त्यसबेला पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल, झलनाथ खनालहरु त्यहि पार्टीमा भएको तर अहिले एमाले फुटिसकेको उनले बताए । एमाले अघिल्लो निर्वाचनमा २७ पालिकामा मात्र कांग्रेसभन्दा अघि रहेको शर्माले बताए ।

संयुक्त गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुखका उम्मेदवार भोजराज सिटौला , उपप्रमुखका उम्मेदवार सीपी कडरिया , कांग्रेसका जिल्ला सभापति देउमान थेबे ,नेविसंघकी पूर्व सहमहामन्त्री उमा शिवाकोटीलगायतले बोलेका थिए । कार्यक्रमको संचालन युवराज दाहालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्